‘यो सरकार अर्को चुनावसम्म कायम रहन्छ’


प्रधानमन्त्री केपी ओलीले आफु नेतृत्वको सरकार संसदको अर्को निर्वाचन गराएर मात्र विदा हुने जनाएका छन्।

गत साता दुई मुख्य सत्ताधारी दल नेकपा एमाले र एकीकृत माओवादीबीच नौ बुँदे सहमति भएपछि तत्कालका लागि सरकारको नेतृत्व कायम राख्ने दुवै दलले जनाएका थिए।

तर त्यससंगै अलिखित भनिएको बुँदा अन्तर्गत केही समयपछि सरकारको नेतृत्व परिवर्तन हुने चर्चाका माझ शुक्रबार प्रधानमन्त्री ओलीले आफ्नो सरकार नयाँ संविधान अन्तर्गत अर्को संसदको चुनाव गराएर मात्र विदा हुने बताएका हुन्।

विपक्षीले म्यादी सरकार भनेर कटाक्ष गरेको प्रति ईंगित गर्दै संसदमा उनले भने, “मैले यो सरकार एकदम स्थिर छ भन्दिन। यो संसदको म्याद २०७४ सालको माघ ७ गतेसम्म छ। त्यसअगावै चुनाव गराउनुपर्छ। चुनावपछि बन्ने अर्को संसदले नयाँ सरकार बनाउँछ। त्यतिखेरसम्मका निम्ति यो सरकार म्यादी हुनेछ।”

स्थानिय चुनाव

दुई साता अगाडी एक्कासी एकीकृत नेकपा माओवादीका अध्यक्षले सरकारको नेतृत्व बदल्नुपर्ने धारणा सहितको विज्ञप्ति जारी गरेपछि ओली नेतृत्वमाथि संकट आइलागेको ठानिएको थियो।

शुक्रबार संसदमा बोल्ने क्रममा भने प्रधानमन्त्री ओलीले त्यस्तो संकट कुनै नरहेको बरु आफ्नो ध्यान आउँदो मंसिरमा स्थानिय निकायको चुनाव गराउने तर्फ रहेको जनाए। त्यसका लागि आवश्यक कानुन यही संसद अधिवेशनबाट पारित गर्ने आफ्नो अपेक्षा रहेको उनको भनाई थियो।

“स्थानिय तहका पुनर्संरचनाका लागि केही समय लाग्छ। त्यसैले झण्डै डेढ दशकदेखिको जनप्रतिनिधिविहिन स्थितिको अन्त्य गर्न स्थानिय निकायको निर्वाचन जरुरी छ। मंसिरमा स्थानिय निकायको निर्वाचन गर्ने विषय संविधान वा कानुनको प्रतिकुल छैन,” उनले भने।

सरकारका नीति तथा कार्यक्रमको बचाउ गर्ने क्रममा प्रधानमन्त्रीले नेपालले आफ्नै क्षमतामा काठमाण्डौं तराई द्रुत मार्ग निर्माण गरिछाड्ने वाचा दोहोर्याए।

नीति तथा कार्यक्रम संसदको बहुमतले शुक्रबार पारित भएपछि अब सरकारको ध्यान दुई सातापछि प्रस्तुत हुने बजेटमा केन्द्रित हुने देखिएको छ।

साभारः विविसी