जसको नसा–नसामा बग्छ फुटबल


Rajukaji-finalराजुकाजी शाक्य

नेपाली फुटबलमा राजुकाजी शाक्य यस्ता व्यक्तित्व हुन्, जो खेलाडी र प्रशिक्षक दुवैमा सफल भए । यस्तो सफलता पाउनेहरु देशमा विरलै छन् ।
उनी नेपाली फुटबलका हस्ती हुन् । कारण– उनले खेलाडी, कप्तान र प्रशिक्षकजस्ता तीन वटा फरक भूमिकामा दक्षिण एसियाली खेलकुद (साग)को फुटबलमा स्वर्ण जितेका छन् । खेलाडी हुँदा दुई स्वर्ण (खेलाडी र कप्तान) र प्रशिक्षकका रूपमा एक ।

उनी यो स्थानसम्म आउन अनेक पापड बेलेका छन् । संघर्ष र लगनको उदाहरण बने । फुटबलप्रतिको ‘प्यासन’ कहिल्यै मर्न दिएनन् । फुटबल भनेपछि सबथोक बिर्सिने समर्पण भएरै हुन सक्छ– उनलाई कसैले बिर्सन सक्दैनन् ।
“फुटबल भनेपछि सबैथोक त्याग्न सक्थें, अहिले पनि सक्छु । मेरो फुटबलबाहेक केही छैन । ममा फुटबलको प्यासन थियो, त्यसबाट आफूलाई कहिल्यै विचलित हुन दिइनँ,” शाक्य भन्छन्, “कतिमा सफलता पाएँ, कतिमा असफलता– तर फुटबलबाट मैले जे पाएँ, सन्तुष्ट छु ।”

शाक्यले नेपाली राष्ट्रिय टोलीबाट सन् १९८१ मा डेब्यु गरे । त्यसपछि १९९७ सम्म लगातार देशका लागि खेले, कप्तान भएर । खेलाडी जीवनबाट संन्यास लिएपछि अहिलेसम्म निरन्तर प्रशिक्षक छन् ।

काठमाडौंमा भएको पहिलो सागदेखि सातौं सागसम्म लगातार खेलेका शाक्यले सन् १९८४ को पहिलो संस्करणमै स्वर्ण जिते । सन् १९९३ मा ढाका (बंगलादेश)को सागमा उनले खेलाडी र कप्तानका रूपमा स्वर्ण जिते ।

त्यसपछि साग खेलकुदमा नेपालले कुनै उपाधि जित्न सकेको थिएन । गत फागुनमा भारतको १२ औं सागमा बल्ल नेपालले त्यो रिक्तता पूरा ग¥यो । भारतलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले स्वर्ण पदक हात पा¥यो । र, २३ वर्षपछि नेपालले सागमा स्वर्ण पदक जित्दा नेपाली टोलीका प्रशिक्षक थिए उनै थिए– राजुकाजी शाक्य ।

त्यतिमात्र होइन, खेलाडीका रूपमा साग गेम्सका लगातार सातौं संस्करण खेल्दा शाक्य कहिल्लै पदकविहीन भएनन् । उनले खेलेका सागमध्ये दुई संस्करणमा स्वर्ण, एकमा रजत र चार संस्करणमा नेपालले कांस्य पदक जित्यो ।

फुटबलको जग
धरान पूर्वाञ्चलको सुन्दर सहर, त्यसमाथि लाहुरे बस्ती अनि फुटबलप्रतिको असीमित लगाव । त्यहीँ जन्मिए शाक्य– ०१७ सालमा । स्कुल पढ्दै फुटबलको कौशल सिके र मिडफिल्डरको भूमिकाबाट खेल सुरु गरे । पछि राष्ट्रिय टोलीका डिफेन्स भएर खेले ।

“धरानमा फुटबल माहोलको कुरै नगरौं । जताततै फुटबल खेल्ने वातावरण थियो । म पनि फुटबल भनेपछि हुरुक्कै हुन्थें,” उनले बाल्यकाल सम्झिए, “त्यहीँबाट मेरो फुटबल यात्रा सुरु भयो ।”

बाल्यावस्थामै फुटबलमा लागेका शाक्यले स्कुलमै निकै राम्रो फुटबल खेल्थे । त्यसैले स्कुलबाट भागेर चौरतिर धाउँथे । उनको नसामा फुटबल बग्थ्यो ।
शिक्षा सदनमा पढ्दा उनले अतिरिक्त क्रियाकलापअन्तर्गत फुटबलमा भाग लिन्थे । फुटबल भनेपछि हुरुक्क हुने, स्कुलबाट भागेर कति पटक फुटबल खेल्न गए पत्तै छैन । त्यसमाथि घरमा स्वीकृति थिएन । किनकि उनका मामा बिन्दु शाक्य फुटबल खेल्थे । परिवारले तिनै मामालाई देखाउँदै भन्थे, “फुटबलमा केही छैन, नखेल् ।”

तर, उनले खेल्न छाडेनन् । घरमा बुबाको गहना पसल थियो तर उनले कहिल्यै त्यसमा रुचि देखाएनन् । बरु आफूलाई खेलमा निखार्दै गए । फुटबललाई करिअर बनाउन अघि सरे । उनको फुटबल मोहबाट परिवार नै आजित भइसकेको थियो ।
उनी सम्झिन्छन्, “मेरो प्यासन देखेर सबै तनावमा थिए । म जतिबेला पनि बल बोकेर हिँड्ने हुँदा बुबाले नामै भकुन्डे राख्दिनुभएको थियो ।”

फुटबलमा कतिसम्म ‘पागल’ थिए भने उनले विवाह गर्नसमेत सोच्न भ्याएनन् । खेलाडीबाट संन्यास लिएपछि बल्ल उनले विवाह गरे । “मलाई घरमा जहिले पनि विवाहको प्रेसर आउँथ्यो । तर, म फुटबलमा यति पागल भएको थिएँ कि मैले फुटबल बिग्रन्छ भनेर बिहे गर्ने कुरा नै पछि सारें,” उनी भन्छन्, “म ३५ वर्षको हुँदा बल्ल मञ्जुशोभा शाक्यसँग विवाह भयो । त्यतिबेला भर्खर मैले खेलाडीबाट संन्यास लिएको थिएँ ।”

फुटबलकै कारण उनले पढाइसमेत बिगारे । शिक्षा सदनबाट एसएलसी पास गरेपछि धरानकै महेन्द्र बहुमुखी क्याम्पसमा आईए पढ्दापढ्दै उनले फुटबलका लागि पढाइ छाडे ।

धरानको माटोमा फुटबल सिके पनि उनले त्यहीँको टिमबाट भने कहिल्यै खेल्न पाएनन् । ‘ए’ टिमका सिनियरहरूको अगाडि उनको गन्ती नै हुँदैनथ्यो । त्यसैले उनी सधैं ‘बी’ टिममा फ्याँकिन्थे ।

आफू धरानको सिनियर टिममा नपर्ने छनक पाएपछि उनी धरानबाहिर जाने निधोमा पुगे । त्यसपछि उनी विराटनगर गए । जनकपुर चुरोट कारखानाको टिमबाट फुटबल खेल्न उनले त्यहीँ जागिर खाए । त्यतिबेला उनी १७ वर्षका मात्र थिए ।

जनकपुर चुरोटबाट क्लब फुटबल खेलाडीको रूपमा डेब्यु गरे तर त्यो अहिलेको जस्तो लिग थिएन । त्यतिबेला विभिन्न उद्योगले फुटबल टिम बनाउने चलन थियो । कर्पोरेट फुटबल टुर्नामेन्टमात्र हुन्थे । उनले त्यहाँ दिनको पाँच रुपैयाँ तलब खाएर काम गर्थे । जनकपुर गएपछि फुटबलबारे अलि बढी बुझे अनि फुटबलमा करिअर खोज्न काठमाडौं हानिए ।

“मलाई थाहा थियो– धरानमा मैले केही गर्न सक्दिनँ । त्यसैले विराटनगर गएँ,” उनले थपे, “तर, विराटनगरमा पनि मैले करिअर राम्रो देखिनँ । किनकि मलाई राष्ट्रका लागि खेल्नु थियो । त्यही भएर म सबथोक छाडेर काठमाडौं आएँ । मैले अठोट लिएको थिएँ र दाइहरूलाई भनेको थिएँ– म जसरी पनि राष्ट्रिय टिमबाट खेल्छु– हेर्नुहोला ।”

काठमाडौं आएपछि उनले अन्नपूर्ण क्लबबाट व्यावसायिक फुटबल खेल्न थाले । त्यहाँ केही वर्ष खेलेपछि उनी फ्रेन्ड्स क्लबमा आबद्ध भए । त्यसपछि राष्ट्रिय टोलीमा स्थान बनाए । त्यतिमात्र होइन, उनले सन् १९९६ देखि १९९८ सम्म बंगलादेशको भिक्टोरिया क्लबबाट व्यावसायिक फुटबल खेल्ने मौका पाए । त्यसअघि एक सिजन बंगलादेशकै इस्ट इन क्लबबाट पनि खेले ।

साग कथा
फुटबलमा लागेपछि शाक्यले धेरै पाए, धेरै गुमाए । ओलम्पिक छनोट, विश्वकप छनोट, एएफसी च्यालेन्ज कपलगायत धेरै खेल खेले । तर, उनलाई दक्षिण एसियाली खेलकुद (साग) विशेष लाग्छ ।

“मैले देशका लागि धेरै खेलें तर मलाई साग गेम्स विशेष लाग्छ,” उनी भन्छन्, “किनकि मैले खेलाडीका रूपमा विभिन्न सागमा फरक–फरक अनुभव लिएँ । कप्तान र प्रशिक्षकका रूपमा पनि । फुटबलमा लागेपछि मैले जे पाएँ, सागमै पाएँ ।”

हुन पनि उनले पहिलोदेखि सातौं सागसम्म लगातार खेले । जति खेले, कुनैमा पदकविहीन भएनन् । दुई संस्करणमा स्वर्ण जिते र हालै सम्पन १२ औं सागमा पनि प्रशिक्षकका रूपमा नेपाललाई स्वर्ण दिलाए ।
सन् १९९१ देखि १९९७ सम्म कप्तानकै रूपमा खेल्ने अवसर पाए । त्यतिबेला नेपाल चौथोबाट पाँचौं कहिल्यै भएन । त्यसमा उनी आफूलाई भाग्यमानी ठान्छन् ।

यसपटकको स्वर्णले उनको जीवनमा अर्को आयाम थपिदिएको छ । खुसी हुने अर्को बहाना थपिदिएको छ । “मैले खेलाडी हुँदा सागमा राम्रो गरेको थिएँ, प्रशिक्षकका रूपमा काम गरेको थिइनँ तर यसपटक मुख्य प्रशिक्षकको जिम्मेवारी पाएपछि केही गरेरै छोड्छु भन्ने विश्वास थियो । खेलाडी र समग्र टोलीका रूपमा हामीले धेरै मेहनत ग¥र्यौं र सफलता पनि पायौं,” उनले भने ।

भारतलाई उसैको मैदानमा हराउने आफ्नो इखसमेत यो सागबाट पूरा भएको उनी बताउँछन् । “खेलाडीका रूपमा सम्भव भएन तर प्रशिक्षकका रूपमा भारतलाई उसकै मैदानमा हराएर स्वर्ण जित्ने सपना पूरा भयो,” उनी भन्छन्, “यो खुसी व्यक्त गर्ने शब्द मसँग छैन ।” यसअघि भारतको दबदबालाई चिर्न नसकेकोमा उनलाई इख र दुःख दुवै थियो ।

तर, सागमा पाएको स्वर्णले मात्रै नेपाली फुटबल माथि गएको उनलाई लाग्दैन । “हामीले सागमा स्वर्ण जित्यौं तर हाम्रा लागि यो कुनै ठूलो कुरा होइन, हामीले अझै धेरै गर्न बाकी छ,” भन्छन्, “हामीले भौतिक संरचना, खेलाडी र प्रशिक्षकलाई समयसापेक्षिक रूपमा विकास गर्दै जानु आवश्यक छ । हामीले ठूला टिमसँग खेल्नुपर्ने हुन्छ ।”

स्वर्ण जित्दा जागिर चैट
शाक्यको जीवनमा दुःखका क्षण थुप्रै छन् । तीमध्ये एउटा यस्तो क्षण उनी कहिल्यै भुल्दैनन्, जब देशका लागि स्वर्ण जितेर ल्याउँदा उनको जागिर नै गयो ।
“त्यो क्षण म अहिले पनि सम्झिन्छु, त्यो मेरा लागि जीवनकै ठूलो दुःख थियो,” उनले भने, “स्वर्ण जितेर आयौं, स्थायी हुनै लागेको जागिर उल्टै गयो । त्यतिबेला हामी स्वर्ण जित्ने सबै फालिएका थियौं ।”

शाक्य त्यतिबेला आरएनएसी (तत्कालीन रोयल नेपाल एयरलाइन्सको) टिमबाट फुटबल खेल्थे । उनी करारका जागिरे खेलाडी थिए । त्यही बेला सन् १९९३ मा बंगलादेशको ढाकामा छैटौं साग हुँदै थियो । आरएनएसीले स्वर्ण जितेर फर्किंदा जागिर स्थायी गरिदिने कुरा भएको थियो । त्यतिबेला नेपाली टिमका कप्तान उनै थिए । त्यस सागमा नेपालले एकमात्र स्वर्ण जितेको थियो, त्यो पनि शाक्य नेतृत्वकै फुटबलमा ।

“स्थायी हुने भएपछि खुसीको सीमा थिएन हाम्रो । तर, नेपाल आएपछि त्यो आश्वासन कार्यान्वयन भएन । परीक्षा भयो, हामी स्वर्ण जित्ने सबैलाई फ्याँकियो,” उनले सम्झिए ।

उनले १९९४ को एसियन गेम्समा अर्को दुःखद घटना बेहोरे । त्यतिबेला नेपालको झन्डा बोक्ने जिम्मेवारी सिनियर खेलाडीको रूपमा शाक्यलाई दिइएको थियो । तर, अन्तिममा अर्कै खेलाडीले झन्डा बोक्यो ।

“एसियन गेम्समा पनि म ठगिएको खेलाडी हुँ । मलाई अन्तिम समयमा देशको झन्डा बोक्नबाट बञ्चित गरियो । कारण के थियो– मलाई थाहा छैन,” उनले भने, “त्यतिबेला म धर्धरी रोएँ ।”

त्यस्तै, १९९९ को सागमा भारतसँग पराजित हुँदै नेपाली टोलीले रजत पदक जित्दा उनी सहायक प्रशिक्षक थिए । नेपाली टोलीलाई तत्कालीन सरकारले विशेष सम्मानसहित गोरखा दक्षिणबाहुबाट पुरस्कृत गर्ने घोषणा ग¥यो । टोलीका प्रशिक्षक र खेलाडीले पाए । तर, सहायक प्रशिक्षक भनेर शाक्यलाई सम्मान दिइएन ।

अहिलेका खेलाडी
उनी अहिलेका खेलाडीमा उतिसाह्रो लगाव देख्दैनन् । “हामी कुनै सुविधाबिना फुटबलका लागि ज्यान दिन तयार हुन्थ्यौं तर अहिलेका हाम्रा खेलाडीमा त्यो भाव पाउँदिनँ,” शाक्य थप्छन्, “यस्तो प्रवृत्तिले नेपाली फुटबलको विकास हुँदैन । खेलाडीले लगाव देखाएनन् भने त्यो देशकै लागि दुर्भाग्य हुन्छ । अहिले खेलाडीहरू स्टारडमको चक्करमा खेलबाट टाढा गएझैं लाग्छ ।”

प्रशिक्षक यात्रा
शाक्यले सन् १९९७ को दक्षिण एसियाली फुटबल च्याम्पियनसिप (साफ) खेलेपछि राष्ट्रिय टोलीबाट संन्यास घोषणा गरे । त्यसलगत्तै उनी प्रशिक्षणमा होमिए । त्यो जिम्मेवारी अहिलेसम्म निरन्तर सम्हालिरहेका छन् ।
प्रशिक्षकका रूपमा नेपाली टोली सम्हाल्दा सुरुमा निकै कष्ट भयो । तर, टिमको जोसले गर्दा सफलता पाउन बेरै लागेन ।

१९९७ मा अखिल नेपाल फुटबल संघ (एन्फा)ले सञ्चालन गरेको एकेडेमीमा जुनियर खेलाडीलाई उनले प्रशिक्षण दिन थालेका थिए । अहिले पनि त्यो क्रम जारी छ । तर, प्रशिक्षक बन्नुअघि उनलाई यससम्बन्धी औपचारिक ज्ञान भने थिएन । निरन्तर प्रशिक्षक तालिम लिए, कोर्स गरे, सिक्दै गए । अहिले पनि सिक्दै छन् ।
“मैले सबैभन्दा पहिले न्युरोड टिम (एनआरटी)का खेलाडीलाई प्रशिक्षण दिएको थिएँ । त्यसपछि एन्फा एकेडेमीका जुनियर खेलाडीलाई दिएँ । त्यो बेलासम्म कसरी प्रशिक्षण दिने भनेर ममा कुनै ज्ञान थिएन,” उनले भने, “तर फुटबलको प्यासनले यतै होमिएँ, पछि सिक्दै गएँ ।”

एनआरटीपछि उनले ‘ए’ डिभिजनका त्रिभुवन आर्मी, थ्री स्टार, संकटा, मच्छिन्द्र र मनाङ मस्र्याङ्दी क्लबमा मुख्य प्रशिक्षक भएर काम गरिसकेका छन् । उनले प्रशिक्षणमा इंग्ल्यान्डबाट ‘यूएफए बी कोर्स’को लाइसेन्स पनि लिइसकेका छन् । उनले एएफसीबाट ‘सी’ क्लासको लाइसेन्ससमेत पाएका छन् । अब ‘ए’ क्लासको लाइसेन्स लिने तयारीमा छन् ।

एकेडमी सपना
शाक्यको वर्षौंदेखिको सपना थियो, फुटबल एकेडमी खोल्ने । अहिले बल्ल त्यो सपना पूरा भएको छ । उनले ६ जना साथीसँग मिलेर ललितपुरको च्यासलमा सुविधासम्पन्न फुटबल एकेडेमी ‘नेसनल स्पोर्ट्स सेन्टर’ खोलेका छन् । बिहीबारमात्रै यसको उद्घाटन भएको छ ।

तल्लो तहबाट खेलाडी उत्पादन गर्ने लक्ष्यसाथ खोलिएको सेन्टरमा फुटबलका साथै पौडी, टेनिस र जिमको समेत तालिम दिइन्छ । करिब ३ करोड रुपैयाँ लगानी रहेको सेन्टरमा शाक्यसँगै रवि श्रेष्ठ, यामबहादुर खत्री, सुरेन्द्र श्रेष्ठ, दिनेश व्यञ्जनकार र रामलाल व्यञ्जनकारको संयुक्त लगानी छ । सेन्टरमा फुटसल, स्विमिङ पुल, साउना, टेनिस, रेस्टुराँ, कन्फेरेन्स हलसमेतको सुविधा छ ।

साभारः बाह्रखरी अनलाइन