‘माओवादी समूहहरुबीच‍ एकता जेठ ६ गते’


एकीकृत माओवादीलगायत विभिन्न माओवादी दलहरुमा विभाजित नेता तथा कार्यकर्ताहरुले औपचारिक रुपमा नयाँ संरचनामा एकताबद्ध हुने निर्णय गरेको बताएका छन्।

प्रचण्ड नेतृत्वको एकीकृत माओवादीसहित विभिन्न समयमा चोइटिएर गएका पाँच पार्टीबीच जेठ ६ गते औपचारिक रुपमा एकताको घोषणा हुने नेताहरुले बताएका छन्।

तर नयाँ स्वरुपमा देखिने एकताबद्ध पार्टीमा क्रान्तिकारी माओवादीका मोहन बैद्य र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई भने सहभागी नहुने भएका छन्।

विभाजन

पहिलो संविधानसभा चुनावबाट सबैभन्दा ठूलो पार्टी बनेको तत्कालीन नेकपा माओवादी पार्टीभित्र, सत्तामा पुगेको केही समयपछि देखि नै फुट आउन थालेको थियो।

त्यसपछि एकीकृत माओवादीबाट विभिन्न कारण र कालखण्डमा टुक्रिएका बस्तीमा पाँचवटा पार्टी बनेका थिए।

पाँच माओवादी समूहको शनिबार साँझ बसेको बैठकले पार्टी एकताको निर्णय गरेको बताइएको छ।

एकीकृत माओवादीका सचिव वर्षमान पुनले भने, “आगामी जेठ ६ गते आ-आफ्ना पार्टीका केन्द्रिय सदस्य, सल्लाहकारको सहभागितामा संयुक्त अधिवेशन गर्ने र त्यसै दिन दिउँसो एकताको घोषणा गर्ने गरि पाँच माओवादी समूहको एकता संयोजक समिति गठन भएको छ।”

प्रयास

उक्त संयोजन समितिले अन्तरिम विधान तय गरेर पार्टीको नयाँ नाम र नेतृत्व तय गर्ने बताएको छ।

संयोजन समितिमा प्रचण्ड, रामबहादुर थापा, मणि थापा, जयपुरी घर्ती र बसन्त घर्ती छन्।

अहिले क्रान्तिकारी माओवादीबाट मोहन बैद्य, सिपी गजुरलेलगायतका नेता नआए पनि उनीहरुसँग पनि फेरी छलफल गरेर एकताको प्रयास गरिने सचिव पुनले बताए।

उनले भने, “बैद्यजी पनि एकताको विरोधी त होइन। तर केही सैद्धान्तिक विषयहरु मिलेन भनिरहनुभएको छ। अहिले नै हुने एकतामा उहाँ छुट्नु भएको छ। विस्तारै उहाँसँग पनि राजनीतिक र वैचारिक छलफल हुन्छ र उहाँ पनि एकतामा आउनै पर्नेहुन्छ।”

माओवादी पार्टी एकताको यो प्रयास पछि पनि मोहन बैद्य, बाबुराम भट्टराई र नेत्र विक्रम चन्द जस्ता शसस्त्र विद्रोहमा महत्वपूर्ण भुमिका निभाएका नेताहरु भने आआफैँले नेतृत्व गरेका पार्टीहरुमै रहने देखिएको छ।

साभारः विविसी