भोलीबाट कर्णाली एक्सपो-१६ सुर्खेतमा शुरु हुँदै


करिब १० करोड बराबरको ब्यापार लक्ष्य

brochure npसुर्खेत, २२ मंसिर । भोली मंसिर २३ गतेबाट सुर्खेत उद्योग वाणिज्य संघले ‘कर्णाली एक्स्पो १६’ नाम दिएर अन्तर्राष्ट्रिय स्तरको व्यापार मेलाको आयोजना गर्दैछ । प्रत्येक ३/बर्षमा संघले गर्दै आइरहेको मेलालाई यसपटक अन्तर्राष्ट्रिय ब्यापार मेलामा परिणत गरेको हो । संघले यस पटको मेला मेला ‘कर्णाली एक्स्पो १६’ मा करिब १० करोड बराबरको ब्यापार लक्ष्य राखेको छ ।

एक्स्पोमा भारत, पाकिस्तान, बंगलादेश र थाइल्याण्डका उत्पादन पनि प्रदर्शन गरिने र ति देशका उत्पादनको लागि ३० वटा स्टल बुक भइसकेको बताइएको छ ।

एक्सपोमा ‘आन्तरिक तथा वाह्य पर्यटकको लागि हेलिकोप्टरबाट रारा, पञ्चकोशी र सुर्खेत उपत्यकाका मनोरम दृश्य अवलोकन गराउने प्याकेज गरिएको र यो प्याकेजले मध्यपश्चिमका संभावनालाई पहिचान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन एक्स्पोको महत्वपूर्ण कार्य हुने संघ अध्यक्ष प्रकाश अधिकारीले बताउनुभयो ।

हेलिकोप्टरबाट सुर्खेत—रारा—सुर्खेतको अपडाउन स्वरुप प्रतिव्यक्ति ५० हजार रुपैयाँ निर्धारण गरिएको छ । रारा घुम्न चाहनेले कम्तिमा आधा घण्टादेखि बढीमा ४५ मिनेटको समय पाउने छन् । यस्तै उपत्यका भित्रका पर्यटकीय स्थलहरुको दृश्यावलोकन गर्नका लागि ५ मिनेटसम्मको उडानका लागि प्रतिव्यक्ति ४५ सय र १५ मिनेटका लागि प्रतिव्यक्ति ११ हजार सल्यानको कुभिण्डे दह पुगेर बढीमा ४५ मिनेटसम्म घुमेर फर्किन चाहनेका लागि प्रतिव्यक्ति १५ हजार तथा दैलेखको पञ्चकोशी भ्रमणका लागि १७ हजार रुपैयाँ प्रतिव्यक्ति शुल्क निर्धारण गरिएको  जनाएको छ ।

एक्सपो उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउनुहुने भएको छ । त्यस्तै सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानी, सुर्खेतबाट प्रतिनिधित्व गर्ने पाँचै जना सांसदहरुलाई पनि उद्घाटन समारोहमा निमन्त्रणा गरिएको मुल आयोजक समितिले जनाएको छ । सोही अवसरमा छैठौ प्रदेशका विभिन्न जिल्लामा मागहरुमा सरकारको ध्यानाकर्षण पनि गराइने आयोजकले जनाएको छ ।