राष्ट्रपतिले चलचित्रकर्मीलाई अवार्ड दिने


८ जेठ, काठमाडौं । चलचित्र विकास बोर्डले आफ्नो १६ औं वाषिर्कोत्सवको अवसरमा आउँदो असार १६ गते राष्ट्रपति भवनमा राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्ने भएको छ ।

उक्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उत्कृष्ट चलचित्रकर्मी र चलचित्रलाई पुरस्कार प्रदान गर्ने भएकी छिन् । बोर्डले १६ असारलाई आफ्नो स्थापना दिवस मान्दै आएको छ । त्यस्तै बोर्डले चलचित्र ‘पशुपति प्रसाद’ र ‘छाँया’लाई ०७२ सालको विषेश चलचित्र घोषणा गरेको छ । दिपेन्द्र के खनाल निर्देशित पशुपति प्रसाद र मनोज पण्डित निर्देशित छाँयाले सबटाईटल गरे वापत दुई लाख रुपैंया बोर्डवाट पाउने भएका छन् ।

०७२, बैशाख १ देखि चैत मसान्तसम्म प्रदर्शन भएका मध्ये उत्कृष्ठ ठहरिएका यी चलचित्रलाई विषेश घोषणा गरिएको बोर्डले जनाएको छ । त्यस्तै बोर्डले स्नातक तहमा चलचित्र सम्बन्धी अध्ययनरत विद्यार्थीलाइ छात्रवृत्ति उपलब्ध गराएको छ ।

दक्ष प्राविधिक तथा चलचित्रकर्मीको कमी भएको भन्दै बोर्डले ०६१ सालदेखि चलचित्र सम्बन्धी विभिन्न विषयहरूमा स्नातक तहमा अध्यापन गराउने ओस्कार इन्टरनेशनल कलेज (कलेज अफ फिल्म स्टडिज) अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिँदै आएको छ ।

बोर्डबाट नियमित रुपमा प्रकाशन हुँदै आइएको ‘चलचित्र मञ्च’ नामक पुस्तक समेत सार्वजनिक गरेको छ ।

 साभारः अनलाइन खबर