सामूहिक आवासको प्रक्रिया सुरु


ra

एक सय वटा सामूहिक आवासका लागि बजेट निकासा भइसकेको र बोलपत्रबारे टुंगो लागे लगत्तै निर्माणको काम थालिने बताइएको छ।

जेठ महिना लागेसँगै दिन दिनै पानी परिरहेको छ, जसको सबैभन्दा बढी मारमा भूकम्पका कारण घरबार गुमाएकाहरु परेका छन्।

सरकारले बनाइदिने सामूहिक आवासको पर्खाइमा रहेका त्यस्तै पीडितमध्ये दोलखाकी सीता कार्की भन्छिन्,”पानी आइरहेको छ, हावा हुरी चल्छ, भल पस्छ, छानाबाट त्यस्तै पानी चुहिरहन्छ, रातभर सुत्नै पाइदैंन।”

केही अवधि निर्माण पूर्वको कागजपत्र मिलाउन मै समय बिताएका सरकारी अधिकारीहरु पानी पर्न थाले पछि भने सामूहिक आवास निर्माणका लागि तातेका जस्ता देखिएका छन्।

योजना

तत्काल सबैको घर पुनर्निर्माण गर्न नभ्याइने हुँदा कम्तीमा प्रभावितहरुलाई छानोमुनि ल्याउन सरकारले सामूहिक आवासको योजना ल्याएको हो।

पुनर्निर्माण प्राधिकरणले सामूहिक आवास निर्माणको जिम्मा सहरी विकास मन्त्रालयलाई दिएको छ।

प्राधिकरणबाट २८ करोड रुपैयाँ निकासा पाइसकेको मन्त्रालयले बोलपत्रको काम गरिरहेको केन्द्रिय आयोजना कार्यान्वयन इकाइका निर्देशक शिवहरि शर्माले बताए।

उनले भने, “चौधवटा जिल्लामा सय वटा त्यस्तो भवन बनाउने भनेर स्वीकृत भइसकेको छ जस अनुसार १८ वटाको बोलपत्र भइसकेको छ, केही दिनमा अन्यको पनि बोलपत्र हुने अवस्था छ।”

बोलपत्र प्रक्रियालाई पहिलेभन्दा छोटो गरेर सक्न भनिएकाले सामूहिक आवास निर्माणको काम सुरु हुन धेरै समय नलाग्ने भनाइ प्राधिकरणको छ।

प्राधिकरणका प्रवक्ता राम थपलियाले भने,”१५ दिनको सूचना र बाँकी सात दिन सम्झौता गरेर २२ दिनमा उहाँहरुले(सहरी विकास मन्त्रालय) काम सम्पन्न गर्ने अवस्था छ र हामीले रकम पठाएकै दुई हप्ता भइसक्यो।”

त्यस्ता आवासहरु ठाँउ अनुसार चार देखि ३२ परिवारलाई हुने गरी निर्माण गर्न लागिएको बताइएको छ।

हाल गरिएको योजनाभन्दा पनि थप आवासको आवश्यकता परे बजेटको अभाव हुन नदिने प्राधिकरणले जनाएको छ।

यसरी बनाइने आवास सार्वजनिक काम र अन्य दैवी प्रकोपका बेला प्रयोगमा ल्याउन मिल्ने गरी बनाउन लागिएको बताइएको छ।

साभारः विविसी