देउडामा रमाउँदै सुनसरा, देउडामै जीवन समर्पण गर्ने योजना ( भिडियाे सहित )


कृष्णराज धमाला “अपूर्ण”

प्रतिभा, क्षमता, चाहाना हुने हो भने सामाजिक बन्धनले कसैलाई पनि हत्कडी लाएर बन्धक बनाउन नसक्ने रहेछ । रुचिले नै मानिसको जीवनको यात्रा तय गर्छ । अरुले के भन्छन् भन्नेमा चिन्ता गर्नु भन्दा आफ्नो रुचि अनुसारका कर्मलाई निरन्तरता दिदै गए सफलता अबस्य हाँसील हुँदोरहेछ । यस्तै प्रतिभावान महिला हुन् ४४ बर्षिया सुनसरा शाही ।

कालीकोट जिल्लाको हालको खाँडाचक्र नगरपालिका बदालकोटमा २०३० साल बैसाख १ गते जन्मिएकी सुनसराको नाम देउडा खेलाउडीका रुपमा चर्चीत छ । बुवा धर्मजीत शाही, आमा जना शाहीको कोखबाट जन्मिएकी सुनसरा सानै उमेरदेखि गीत गाउनमा अभिरुचि राख्थीन् ।

आजभोली जिल्ला तथा अन्तर जिल्लामा आयोजना हुने देउडा खेलमा दहृो उपस्थिति राख्नेहरुको नाममा उनको नाम र सहभागीता छुट्दैन ।

गाँउ घरमा हुने जात्रा तथा मेलापातमा सुमधुर स्वर घन्काउन र गीतको माला उन्न सिपालु सुनसरा अब गाँउ र मेलापातमा मात्र सिमित छनैन्, बिभिन्न जिल्लाहरुमा आफ्नो उपस्थिति देखाउन थालेकी छन् ।

०४९ सालदेखि औपचारीक रुपमा देउडा खेल्न सुरु गरेकी सुनसारले पहिलो पटक आफ्नै माइतिर नजीकैको सिकुबाट थालनी गरेकी हुन् भने पुरुष सँग पहिलो पटक देउडा दोहोरी उनले करिब ०५३ बाट सुरु गरीन् ।

सुरुसुरुमा मन भित्रबाट गीतको मल्टो आँउथ्यो तर पुरुषहरु खेल लगाउँदा अरुले केही भन्ने हुन्की भन्ने लाग्थ्यो, आजभोली त बानी पनि परीयो, आफू भित्रको प्रतिभा देखाउन कुनै हिच्किचावट लाग्दैन, खुसी हुँदै उनि आफ्नो भनाई राख्छन् ।

हाल सम्म पचास भन्दा बढि ठाउँमा पुरुषहरु सँग देउडा खेलीसकेकी सुनसरा बिगतलाई सम्झदै पछुत्ताउँछन्, पहिले नबुझेर लाज मानेका कारण पछि परे । उनी भन्छन् देउडाको क्षेत्रमा जति योगदान दिनु पर्ने थियो, त्यति दिन सकिन, अहिले पछुत्तो लाग्छ ।

कालीकोटका बिभिन्न गाँउ तथा सर्खेत, बर्दिया, कैलाली लगायतका जिल्लाहरुमा आयोजना हुने महोत्सवहरुमा पटक पटक देउडा खेलाउडीका हैसीयतले उपस्थिति देखाएकी सुनसरा सँग गीत गाएर पाएको उपलब्धि भनेकै प्रमाण पत्र र दर्शकहरुले दिएको अपार माया बाहेक अरु केही नभएपनि उनी खुसीछन् । मैले अरु धेरैलाई चिन्ने अबसर पाएको छु र मलाई पनि देउडा खेल्छ भनेर अरुले चिनेकाछन्, यही मेरालागि सबचिज हो । गीतबाट मेरो बैराग मेटाउछु, उनि भन्छन् अरुलाई पनि रमाइलो वाताबरण सृजना गर्छु  आफूमा भएको क्षमता पर्द्रसन गर्न पाउदा खुसी हुने सुनसरा गीत गाउदा आफ्ना साथी संगीहरुले पनि स्यावासी दिने गरेको स्मरण गर्दै भन्छन्, महिलाको प्रतिनिधित्व गरेको छु, यसमा गौरव गर्छु ।

पहिला पहिला खेल लगाउदा नराम्रो दृष्टिले हर्ने समाज थियो । अब त्यो छैन । उनी भन्छन् क्षमता प्रदर्शन हो । पुरुष सरह महिलाहरु पनि सक्षम छन् भन्ने उदाहरण देखाउन पनि म यो क्षेत्रलाई निरन्तरता दिइरहनेछु । जहाँ कार्यक्रम आयोजना गरीएको हुन्छ त्यहाँ जान उनलाई कुनै कतै छेकबार छैन, न माइतिबाट, न पोइलिबाट नै । कहिले काँही त उनका श्रीमान् पनि सँगै खेलमा साथ दिएर हौषला प्रदान गर्छन्, यि क्षण सुनसरा कहिल्यै भुल्दिनन् । श्रीमान्ले तिमिसँग भएको क्षमता प्रदर्शन गर भन्नुहुन्छ, उनी जहिले पनि सम्झन्छिन, रातभर अनिदो हुँदा स्वास्थ्यलाई असर पर्छ, त्यसमा भने ख्याल गर्नु पर्छ भन्ने सुझाव । देउडा खेलेर खुसी पाएकी छु, आफू रमाउन पाएकी छु र अरुलाई पनि रमाइलो प्रदान गरीरहेकीछु उनले भनिन् म यसैमा खुसी छु ।

अहिले सम्म जति ठाँउमा खेल खेलीन् सुनसराले ति खेल र खेलाउडा मध्ये कालीकोटका यूवा खेलाउडा पुष्पराज आचार्य र जुम्लाका स्व. रामहरी अधिकारी सँग देउडा खेल्दा जति आनन्दको महशुस भयो, त्यति अन्यत्र भने प्राप्त नभएको खुलासा पनि गरीन् । सुनसराले पुष्पराज आचार्य सँग बिहान १० बजे देखि बेलुका १० बजे सम्म लगातार खेलेको अझै भूलेकी छैनन् । उनले भनिन् खेलमा लाग्दा न भोक, न प्यास नै लाग्न, न निन्द्रा न थकानको महशुस नै हुन्छ । जतिजति लामो समय सम्म खेल खेल्यो त्यतित्यति स्वरमा निखारता आउँछ । त्यतीबेला सबै कुरा बिर्सेर दर्शकको मन कसरी जित्ने र कसरी दर्शकलाई मनोरञ्जन प्रदान गर्ने भन्ने मात्रै चिन्ता हुन्छ ।

दुःखीलाई हँसाउन र हाँसेकालाई रुवाउन सक्यो भने त्यो खेलको महत्व हुने बिचार भएकी सुनसरालाई गीत संगित मन पर्नुको त्यस्तो बिशेष कारण भने छैन, मात्र मनको तृप्ति ।

कर्णालीको  माटोमा जन्मिएकोमा गर्ब गर्ने सुनसरा यहाँको सँस्कृतिको जगर्ेना गर्ने अभियानमा इमान्दार सिपाही भएर निरन्तर लागिरहेको बताउँछन् । अबसर प्राप्त गरे पुरुष सरह महिलाले पनि जिम्वेवारी बहन गर्न सक्छन् भन्ने उदाहरण देखाउन पनि अरु सबै कुरा त्यागेर आफू सांगितिक क्षेत्रमा अनबरत रुपमा लागि रहेको उनी बताउँछन् ।

सुनसरा ः देउडा खेल खेल्दीनु पर्यो, आजै पण्यौ टप्का

हाल्दै छौकी फालीहल्यौ पद्दनीका सप्का

पुष्पराज ः जुठा भाँडा माज्न लागिन्, बडामहारानी

मेरो भान्सा पाक्या कै छ, तम्रै भयो हानी

पुष्पराज आचार्य सँग घम्साघम्सि देउडा दोहोरी चल्दै गर्दा गरीएको सवाल जवाफ सुनसरालाई अझै कन्ठष्त छ । मायाप्रेम, राजनीति, समसामयीक अबस्था, सामाजिक कुरीतिका बिरुद्ध लगायतका बिषयमा गीतको माला उन्न रुचाउने सुनसरालाई आफ्नै स्वरमा गीत रेकर्ड गर्ने इच्छा भने अहिले सम्म पुरा भएको छैन । पहिले जागिरका कारण तयारी गरेपनि रेकर्ड गर्न सकिन, तयारी छ, अब त पक्का पनि रेकर्ड गर्छन  भावी योजना पनि सुनाइन् । मेरो स्वर पनि ठिकै छ, मर्नु अघि मेरो स्वरमा गीत गाएर छोड्ने रहर छ, उनले भनिन् यो उमेर सम्म आउँदा धेरै गीत गाइयो, खेलीयो तर समयमा रेकर्ड गर्न सकिएन यसमा थोरै पछुत्तो छ ।

समाजले जे जसरी बिश्लेषण गरेपनि मेरो जीवन नै गीत संगितका लागि अर्पण गरेकी छु भन्दै हाम्रो पहिचान देउडा बचाउने अभियान जारी राख्ने प्रतिबद्धता पनि गरीन् । अन्तिममा सुनसराले भनिन्

जुन ठाउँमा रमाइलो हुन्छ, त्यहाँ सम्म आउन्या छु

जाँ सम्म परानी हुन्छ, त्यहाँ सम्म गाउँन्या छु