सुत्केरीले बच्चा पाखोमै जन्माइन्, हेलिकप्टरको भाडा कसले तिर्ने ?


मनिराज पाण्डे/उज्यालो ।

कालिकोट, फागुन १९ – सुत्केरी हुन नसकेकी पलाता २ की संगिता संज्याल न्यौपानेलाई हेलिकप्टरमा लैजान काठमाडौंबाट मगाइएको हेलिकप्टर भाडा कसले तिर्ने भन्ने बारे अन्योल भएको छ ।
बच्चाको खुट्टा पहिले निस्किएपछि बेलुकी ६ बजेतिर धौलागोह राडुनेटाका स्वास्थ्यकमीलार्ई घरमै बोलाए । मिजुवाडा पुगेका स्वास्थ्यकर्मीले बच्चा निकाल्न नसकेर रातभरी बेथाले च्यापेकी संगिताले बिहानसम्म पनि बच्चा जन्माउन नसकेपछि अनमी संजिता चौधरीसहितका स्वास्थ्यकर्मीले जिल्लामा खबर गरे ।
जटिल अवस्था भएकाले उनीहरुले बच्चा निकाल्न पनि सकेनन् । रातभरी धौलागोहमै राखेर बिहान सदरमुकामतर्फ ल्याउन पिठ्यूमा बोकेर धौलागोहबाट ओरालो झारियो । धौलागोह कालिकोटको सदरमुकाम मान्मबाट २१ कोस टाढा मुगु र बाजुराको सिमानामा पर्छ ।
सुत्केरी हुन नसकेर ३ जना कलिला आमाले ज्यान गुमाइसकेको धौलागोहका स्वास्थ्यकर्मी आत्तिए । जिल्ला स्वास्थ्यका निमित्त  प्रमुख मोहम्मद ओजैर आलमसहितलाई आमा र बच्चाको अवस्था अत्यन्तै जटिल भएको स्थानीय स्वास्थ्य संस्था प्रमुख विनोद न्यौपानेले बताए । ‘हेलिकप्टरका लागि पहल गर्नुपर्यो भनेर बारम्बार दबाब आयो ।’ जिल्ला स्वास्थ्य कार्यालयकी आमा सुरक्षा कार्यक्रम प्रमुख सेतु शाहीले भनिन् ‘मार्ने बचाउने तपाईँहरुकै हातमा छ भनेर खबर आएपछि हामीले पनि त्यही अनुसारको क्षेत्रमा रिपोर्ट गर्यौँ ।’ जिल्ला स्वास्थ्यबाट त्यहाँ पुगेर अवस्था बुझ्न टाढा भएकाले सम्भव भएन । जिल्ला स्वास्थ्यले क्षेत्रीय स्वास्थ्य निर्देशनालयलाई खबर गरेर हेलिकप्टरको लागि माग भयो ।
यता प्रसूति बेथाले छटपटिएकी संगिताका पति उपेन्द्र न्यौपानेले स्वास्थ्य कार्यालयबाट जवाफ आउन ढिलाई भएपछि मान्ममा रहेका गाउँपालिका अध्यक्ष लक्ष्मणवहादुर बमलाई खबर गरे । वडा नम्बर २ का अध्यक्ष बिरी विश्वकर्माले पनि हारगुहार गरेपछि गाउपालिका अध्यक्ष बमले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हेलिकप्टरका लागि अनुरोध गरे ।  ‘सुत्केरी बेथा लोगेको १५ घण्टा भइसक्यो ।’
अध्यक्ष बमले भने ‘जटिल अवस्था भनेर खबर आएपछि आमा र बच्चा जोगाउन हेलिकप्टरको लागि पहल गरे ।’ मुख्यमन्त्रीको पहलमा हेलिकप्टर काठमाडौंबाट उडेर सुर्खेत पुगेपछि पिठ्यूमा बोकेर थिर्पू झार्दै गरेकी प्रसूति बेथाले च्यापेकी संगिताले धौलागोहको पुछारमा पर्ने सैनको पाखोमा बच्चा जन्माइन । बच्चा जन्मिएपछि कालिकोट आउन काठमाडाैंबाट सुर्खेत पुगेको हेलिकप्टर फिर्ता गरे पनि त्यस बापत लाग्ने ३ लाख ५० हजार कसले तिर्ने भन्ने अन्योल भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले जटिल अवस्था भएका सुत्केरी बेथा लागेका महिलालाई बचाउन जिल्ला प्रशासन हुँदै क्षेत्रीय स्वास्थ्य निर्देशनालयमार्फत हेलिकप्टर मगाएर आमा सुरक्षा कार्यक्रमले बेहोर्ने चलन रहे पनि धौलागोहकी महिला आफै सुत्केरी भएर छोरा जन्माएकाले सामान्य अवस्थालाई पनि जटिल भनेको आरोपमा क्षेत्रले जिल्ला स्वास्थ्यलाई हेलिकप्टरको भाडा बेर्होनु पर्ने भन्दै झपारेको छ ।  ‘ठाउँ टाढा भयो’, निमित्त सवास्थ्य प्रमुख आलमले भने, ‘अवस्था नहेररै रिपोर्टिङ गर्दा गाली खानुपर्यो ।’ उनले पहिले धौलागोहकै तीन जना महिलाले सुत्केरी हुन नसकेर ज्यान गुमाइसकेकाले सबै लागि परेको सुनाए ।
जिल्ला स्वास्थ्यको नियमित रिपोर्टिङ च्यानल नाघेर मुख्यमन्त्रीलगायतलाई भनसुन गर्न लगाएको भन्दै पलाता गाउँपालिकाले ३ लाख ५० हजार बेर्होनुपर्ने जानकारी आएको अध्यक्ष बमले बताए । ‘सुत्केरी हुन नसकेर ज्यान गुमाउन दिनु भएन’, बमले भने ‘हेलिकप्टरको भाडा तिर्नुपर्छ भनिरहेका छन,् कताबाट तिर्ने समस्या छ ।’ उनले कालिकोटजस्ता विकट जिल्लाका विकट गाउँबस्तीका प्रसूति बेथाले च्यापेका महिलासहितका विरामीका लागि एयर एम्बुलेन्स आवश्यक रहेको सुनाए ।
जटिल अवस्थामा रहेका प्रसूति बेथा लागेका आमा र शिशु बचाउन स्वास्थ्य सेवा विभाग अन्तरगतको आमा सुरक्षा कार्यक्रमले हेलिकप्टर भाडा बेर्होने प्रावधान भए पनि विरामी नलिएको हेलिकप्टरको भाडा तिर्न समस्या भएको क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतले जनाएको छ ।
साभार :उज्यालो अनलाइन