एक करोड २२ लाखले चलाउँछन् इन्टरनेट
१३ जेठ, काठमाडौं । नेपालको कुल जनसंख्याकै हाराहारीमा मोबाइल फोन देशभित्र खपत भइरहेको पाइएको छ । पुस मसान्तसम्मको तथ्यांक अनुसार २ करोड ७५ लाख १६ हजार मोबाइल फोन प्रयोगमा छन् । ल्याण्डलाइन फोन समेत जोड्दा यो संख्या २ करोड ९२ लाख पुग्छ ।
मुलुकका ७५ वटै जिल्लामा मोबाइल सेवा पुगेको छ । करिव ९० प्रतिशत भू-भाग मोबाइल नेटवर्कले कभर गरिसकेको दूरसञ्चार प्राधिकरणको दाबी छ ।
यस्तै भ्वाइस सेवामा पिएसटिएनका ग्राहक ८ लाख ४६ हजार ९४०, लिमिटेड मोबिलिटीका ८ करोड ४४ लाख ५ सय ९४ र जिएमपिसिएमका १ हजार ७ सय ४२ जना ग्राहकहरु रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
बढ्दैछन् इन्टरनेट प्रयोगकर्ता
नेपालमा पुस मसान्तसम्म इन्टरनेट चलाउने ग्राहकको संख्या १ करोड २२ लाख ९३ हजार १३२ पुगेको छ । जसमध्ये मोबाइलबाट इन्टरनेट चलाउने ग्राहकको संख्या १ करोड १७ लाख ७९ हजार ७७१ छ ।
नेपालमा ८ प्रकारको इन्टरनेट सेवा उपलब्ध छ । एडीएसएल इन्टरनेट सेवाका ग्राहक १ लाख ६० हजार, सिडिएमए तथा इभिडियोका १ लाख ९९ हजार ग्राहकहरु रहेका छन् ।
यसैगरी, वाइम्याक्स १४ हजार ३४५, डायलअपका १० हजार, वायरलेस मोडियम अप्टिकल फाइभर इथरनेटका ४६ हजार केवल मोडियमका ८२ हजार र भिस्याट बेस्ड इन्टरनेटका १३ जना ग्राहक पुगेका छन् ।
आर्थिक सर्वेक्षणमा उल्लेख गरिएअनुसार ७२ जिल्लामा ब्रोडब्याण्ड इन्टरनेट सुविधा पुगिसकेको छ ।




Prawash Kumar Shakya । १३ जेष्ठ २०७३, बिहीबार १५:१२ बजे