कस्तो छ गुगल पिक्सेल ?


गुगल आफैंले डिजाइन गरेको पहिलो फोन पिक्सेल र पिक्सेल एक्सएलका फिचरहरु कस्ता छन् ? यो फोन बजारमा उपलब्ध फोनको विकल्प बन्न सक्ला ? 28102016085120Pixel-1000x0कार्तिक १२, २०७३- सामसुङको एस सेभेन र सेभेन एजलाई अहिले बजारमा भएको सबैभन्दा राम्रो एन्ड्रोइड फोनको संज्ञा दिइन्छ तर उसको सबैभन्दा पछिल्लो उत्पादन नोट सेभेन पड्किने समस्या आएपछि सामसुङको ब्रान्डमा ठूलो धक्का लागेको छ र प्रयोगकर्ताले कम्पनीलाई गर्ने विश्वासमा कमी आएको छ । आफैंले बनाएको एन्ड्रोइड सिस्टम राखेर धेरै फोन बेचिरहेको सामसुङको त्यो हालत भइरहँदा केही साता अघि गुगलले भने आफ्नो पिक्सेल ब्रान्ड नाम दिएर दुई फोन सार्वजनिक गरेको छ ।

अक्टोबर ४ मा आयोजित मेडबाईगुगल इभेन्टमा गुगलले स्मार्टफोनबाहेक अन्य धेरै आफ्ना उत्पादनहरू सार्वजनिक गरे पनि उसको स्मार्टफोनकै चर्चा धेरै छ किनकि यो गुगल आफैंले डिजाइन गरेको पहिलो स्मार्टफोन हो । उसले उक्त इभेन्टमा सार्वजनिक गरेको दुई स्मार्टफोन पिक्सेल र पिक्सेल एक्सएल कस्ता छन् ? यो राम्रो फोन बोक्न चाहने प्रयोगकर्ताका लागि विकल्प बन्न सक्छ त ? दुवै स्मार्टफोनको हार्डवेयर एचटीसीले उत्पादन गरेको भए पनि गुगलले यो फोनलाई आफैंले डिजाइन गरेको हो । कम्पनीले फोनलाई आफ्नै नाममा ब्रान्डिङ गरेको छ ।

एचटीसँग उत्पादन सम्झौता गरे पनि गुगलले ब्रान्डिङमा उसको नाम दिएको छैन् । फोन सार्वजनिक गरेको केही सातामै गुगल पिक्सेलले राम्रो समीक्षा पाएको छ । समीक्षा गर्नेहरूले यसको क्यामेरा, डिजाइन र गुगल असिस्टेन्टलाई उत्कृष्ट भनेका छन् । कम प्रकाशमा पनि राम्रो फोटो खिच्न सक्ने, छिटो काम गर्न सक्ने क्यामेरा र फ्रन्ट र रेअर फेसिङ क्यामेरा प्रयोगकर्ताले बढी मन पराएका छन् । गुगल पिक्सेल स्मार्टफोनको अर्को राम्रो पक्ष भनेको यसमा भएको गुगल असिस्टेन्ट हो । एप्पलको सिरीजस्तै गुगल असिस्टेन्टले प्रयोगकर्ताले अह्राएको काम गर्न सक्छ ।

गुगल असिस्टेन्टले प्रयोगकर्ताले आवाजमार्फत दिएको निर्देशनअनुसार काम गर्न सक्छ र यो पहिलेको गुगल नाउ (डिजिटल असिस्टेन्ट) भन्दा बढी अन्तक्र्रियात्मक छ । गुगल असिस्टेन्ट राखिएको पिक्सेल पहिलो डिभाइस हो । यसले प्रयोगकर्ताले आवाजमार्फत दिएको निर्देशनअनुसार सर्च गर्ने, अलार्म राख्ने, कल गर्नेसम्मको काम गर्न सक्नेछ । पिक्सेलका प्रयोगकर्ताले पाउने अन्य सुविधा भनेको गुगलको अपरेटिङ सिस्टम एन्ड्रोइडको पछिल्लो संस्करण नुगटमा भएको फिचरहरू हुन् । आइफोनको जस्तै थ्रीडी टच जसले प्रयोगकर्तालाई कुनै एपमा केहीबेर थिचेर अन्य अप्सनमा जाने सुविधा दिन्छ । फिचरबाहेक यसको डिजाइन पनि आकर्षक छ ।

पिक्सेलमा ५ इन्चको डिस्प्ले छ भने पिक्सेल एक्सएलमा ५ दशमलव ५ इन्चको स्क्रिन छ । वान पिस आल्मुनियम डिजाइन भएकाले ब्याट्रीहरू झिक्न मिल्दैनन् । महँगो मूल्य तिरे पनि पिक्सेलको ब्याट्री प्रयोगकर्ताले सोचेजस्तो किफायती नहुन सक्छ ।  तर छिटो चार्ज हुने सुविधा भने छ । यसका प्रयोगकर्ताहरूले अनलिमिटेड क्लाउड स्टोरेजको सुविधा पाउने छन् । दुवै फोन ३२ जीबी र १ सय २८ जीबी मोडलमा उपलब्ध हुनेछन् । पिक्सेलमा करिब २८ सय एमएएच र पिक्सेल एक्सएलमा करिब ३५ सय एमएएचका ब्याट्री हुनेछन् । यसका फिचरका आधारमा हेर्दा गुगल आफैंले डिजाइन गरेको पहिलो फोन बजारमा उपलब्ध आइफोन र सामसुङका स्मार्टफोनको विकल्प बन्न सक्ने देखिन्छ । तर, यो बजारमा सर्वसुलभ भने छैन । अहिले गुगलले केही अनलाइन र निश्चित स्टोरबाट मात्रै यसको बिक्री गरिरहेको छ । ‘

साभारः कान्तिपूर अनलाइन