सुर्खेतमा एसइई परीक्षा दिँदै वडा अध्यक्ष


चैत ९, सुर्खेत । भेरीगंगा नगरपालिका–९ का वडा अध्यक्ष लक्ष्मण राना ४८ वर्षका भए। घरको आर्थिक अवस्था कमजोर भएका कारण उनले ७ कक्षा पढ्दै गर्दा विद्यालय छोडे। कमाउनका लागि कालापहाड (भारत) गएका रानाले १८ वर्ष उतै बिताए।

२०६७ सालमा फेरी ७ कक्षाबाट पढ्न सुरु गरेका उनी २०७० सालदेखि माध्यामिक शिक्षा परीक्षा (एसइई) दिइरहेका छन्। ‘यो वर्ष राम्रो तयारी गरेको छु, अहिलेसम्म दिएका २ वटा विषयमा उत्तीर्ण हुन्छु’ रानाले भने, ‘एसइई उत्तीर्ण गरेर राजनीतिक शास्त्र अध्ययन गर्ने लक्ष्य छ।’

रानाले २०७० सालदेखि एसइई दिन सुरु गरेका हुन्। अघिल्लो वर्ष स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेकाले उनले परीक्षा दिन पाएनन्। नेपाल राष्ट्रिय मावि सानोजात्रीबाट एसइईमा सहभागी बनेका उनले पहिलो वर्ष छोरीसँगै परीक्षा दिए। छोरी कल्पना प्रथम श्रेणीमा उत्तीर्ण भइन्। उनी अहिले काठमाडौंमा आइएस्सी अध्ययनरत छिन्। २३ वर्षीय छोरा इश्वर काठमाडौंमै एमएस्सी अध्ययन गरिरहेका छन्।

‘वडा अध्यक्ष भइसकेपछि पढाइको महत्व झन बुझेँ’ उनले दृढता व्यक्त गर्दै भने, ‘जति वर्ष लागेपनि एसइई उत्तीर्ण गरेरै छोड्छु।’ नेकपा एमालेबाट वडा अध्यक्ष उम्मेदवार बनेर विजयी भएका उनले पढाइलाई उमेरले नछेक्ने बताए। ‘पढ्नलाई उमेरले छेक्दैन्, शिक्षा सबैका लागि र सधैका लागि आवश्यक हुन्छ’ उनले भने, ‘जीवन रहँदासम्म पढाइलाई निरन्तरता दिन्छु।’ उनले एक्जाम्टेडतर्फ इगरब्रिज बोर्डिङ स्कुललबाट परीक्षा दिइरहेका छन्।

साभारः देउतीखबर अनलाइन