चैत्र १७, २०७२- आधुनिक फुटबलका महान खेलाडी लियानेल मेसीले मंगलबार राति अन्तर्राष्ट्रिय खेलमा ५० गोल गर्दै एक अर्को उपलब्धी हात पारेका छन् । यसले उनलाई वास्तवकै कति राम्रा खेलाडी हुन भनेर प्रमाणित गर्न अर्को आधार तयार पारेको छ ।
अर्जेन्टिनाले दक्षिण अमेरिकी विश्वकप छनोटमा लगातार तेस्रो जित निकालेको छ र त्यसमा मेसीले आफ्नो ५० औं अन्तर्राष्ट्रिय गोल पूरा गरे ।
मेसीले पेनाल्टीबाट गोल गरेपछि अर्जेन्टिनाले बोलिभियालाई २–० ले हरायो । यो जितले दक्षिण अमेरिकी विश्वकप छनोटमा कमजोर सुरुआत लिएको अर्जेन्टिनाको यात्रा फेरि सहज भएको छ । बोलिभियामाथि प्राप्त ३ अंकले लिग तालिकामा अर्जेन्टिना तेस्रो स्थानमा पनि उक्लेको छ ।
मेसीको यो उपलब्धीपछि उनी अर्जेन्टिनाका लागि गोलको अर्धशतक छुने दोस्रो खेलाडी बनेका छन् । यससँगै २८ वर्षीय स्ट्राइकर सर्वाधिक गोल गर्ने लेजेन्ड ग्याब्रियल बाटिस्टुटाको ५६ गोलको नजिक पनि पुगेका छन् । बाटिस्टुटाले सन् १९९१ देखि २००२ बीच गोल गरेका हुन् । अब मेसीसामु चाँडै बाटिस्टुटालाई उछिन्ने अवसर पनि हुनेछ ।
मेसी आफ्नो देश र बार्सिलोनाका लागि गरेर पाँच सयौं गोल गर्ने संघारमा पनि पुगेका छन् । उनी यसका लागि एक गोलले मात्र पछाडि छन् । अब उनले यसै साता अल क्लासिकोमा यसलाई हात पार्न सक्ने छन् । बार्सिलोना र रियल म्याड्रिडबीच ला लिगामा यसै सप्ताहन्त खेल हुँदैछ ।
साभारः कान्तिपूर अनलाइन
http://bit.ly/1PEN4ps




Milan Shrestha । १७ चैत्र २०७२, बुधबार १४:१३ बजे