नेपालको निर्णायक खेल आज


माघ १, २०७२- नयाँ प्रशिक्षक र कप्तानसहित नेपाली राष्ट्रिय फुटबल टिम बंगबन्धु गोल्डकपमा सेमिफाइनल पुग्ने लक्ष्यसाथ बंगलादेशतर्फ लागेको थियो । शुक्रबार हुने निर्णायक खेलमा नेपालले आयोजक बंगलादेशसँग ढाकामा खेल्दैछ ।
दक्षिण एसियाली चिरपरिचित प्रतिद्वन्द्वीमाथि सफलता हात पार्नसके नेपालले समूह ‘ए’ विजेताका रूपमा सेमिफाइनल यात्रा तय गर्ने पक्का छ । तर, त्यसमा बंगलादेश विजयी भयो भने नेपाल समूह चरणबाटै घर फर्कनुपर्ने हुन सक्छ । दिनको पहिलो खेलमा मलेसियन सुपरलिगको क्लब फेल्डा युनाइटेड र श्रीलंका भिड्नेछन् । त्यसको नतिजाले पनि समूहको समीकरण तय गर्न सक्छ ।
‘तयारी राम्रो छ । सबै कुरा ठीकै अवस्थामा छ,’ प्रशिक्षक बालगोपाल महर्जनले भने, ‘राम्रो नतिजा ल्याएर सेमिफाइनल पुग्ने लक्ष्य पूरा गर्नेछौं । त्यसैअनुसार बिहीबार अभ्यास गरेका छौं ।’ उनले टिममा केही फेरबदल गर्न सक्ने पनि बताए । ‘जगजित श्रेष्ठ घाइते छन् । अरू खेलाडी फिट छन् तर अन्तिम समयमा एक–दुई परिवर्तन हुन सक्छ,’ उनले भने ।
फेल्डा युनाइटेड र श्रीलंकाबीचको खेल बराबरीमा टुंगिए मैदानमा ओर्लनुअघि नै बंगलादेश र नेपालको सेमिफाइनल यात्रा निश्चित हुनेछ । तर, फेल्डा युनाइटेडले ३ अंक जोडेको स्थितिमा भने नेपालले समूह चरण पार गर्न बंगलादेशलाई पराजित गर्नु अनिवार्य हुनेछ । किनभने बंगलादेश गोल अन्तरमा नेपालभन्दा अगाडि छ र अन्तिम खेल जितेको अवस्थामा फेल्डा युनाइटेडले पनि गोलमा नेपाललाई पछाडि पार्नेछ ।
नेपाल र बंगलादेशको ४–४ अंक छ । तर, राम्रो गोल अन्तरका आधारमा बंगलादेश शीर्षस्थानमा छ । दुवै खेल बराबरीमा टुंग्याएको फेल्डा युनाइटेडको २ अंक छ । दुवै खेल हारेको श्रीलंका समूह चरणबाटै घर फर्कने पक्का भइसकेको छ । नेपाल र बंगलादेशको प्रतिस्पर्धालाई फिफाले ‘अन्तर्राष्ट्रिय खेल’ को मान्यता दिएको छ । त्यसैले यसको नतिजाले फिफा वरीयतामा पनि प्रभाव पार्नेछ ।
फिफा वरीयतामा अहिलेसम्मकै तल्लो १ सय ९६ औं स्थानमा रहेको नेपालभन्दा १७ स्थानमाथिको टिम हो, बंगलादेश । तर, यी दुईको खेल सधंै प्रतिस्पर्धात्मक हुने गर्छ । ‘बंगलादेश र नेपाल उस्तै स्तरका टिम हुन् । दुवैको सम्भावना ५०–५० छ,’ बंगबन्धु स्टेडियममा हुने खेलबारे प्रशिक्षक महर्जनले भने । यही स्टेडियममा नेपालले पछिल्लो उपाधि (दक्षिण एसियाली खेलकुद १९९३ को स्वर्णपदक) जितेको थियो ।
नेपाल र बंगलादेश एक महिनाभित्र दोस्रोपल्ट भिड्न लागेका हुन् । साफ च्याम्पियनसिपको तयारीमा ढाकामा भएको मैत्रीपूर्ण खेलमा बंगलादेश १–० ले विजयी भएको थियो । १२ औं दक्षिण एसियाली खेलकुदलाई लक्षित गर्दै बनाइएको नेपाली टिममा युवा खेलाडीको बाहुल्य छ । विराज महर्जनको टिमले श्रीलंकाविरुद्ध हात पारेको १–० को जितमा सुमन लामाले डेब्यु गर्ने मौका पाएका थिए । विमल घर्तीमगरको गोलले नेपालले जितविहीन यात्राको शृंखलालाई १२ खेलमा टुंग्याएको थियो । त्यसैले पनि नेपाली टिम उत्साहित छ ।

साभारः कान्तिपूर अनलाइन