चैत १७, सुर्खेत ।
कर्णाली प्रदेश सरकारले कर्णाली–रारा पर्यटन वर्ष २०७५ को लोगो र नारा सार्वजनिक गरेको छ । आज सुर्खेतमा पत्रकार सम्मेलनको आयोजना गरी लोगो र नारा सार्बजनिक गरीएको हो ।
कर्णाली प्रदेशको समृद्धिका लागि पर्यटनलाई मुख्य आधार मानेर प्रदेश सरकारले २०७५ लाई पर्यटन वर्षका रुपमा मनाउने निर्णय गरेको हो । राराको तश्विर र सुर्यको चित्र राखिएको लोगो र ‘कर्णाली समृद्धिको आधार पर्यटनको विकास र पूर्वाधार’ भन्ने नाराको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सार्बजनिक गर्नुभएको हो ।
कर्णाली–रारा पर्यटन वर्ष २०७५ को जानकारी दिदै मुख्यमन्त्री शाहीले बैशाख १ गते राराबाट उद्घाटन गरिने र यसका लागि आफुहरु तयारीमा जुटेको बताउनु भयो । बैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गर्ने कार्यक्रम रहेको भन्दै उहाँले प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने पनि कार्यक्रम रहेको जानकारी दिनुभयो । कायक्रम स्थलमा इन्टरनेट र फोनको सुविधा हुने, कार्यक्रमको मिडियाहरुबाट लाइभ गर्ने व्यवस्था गरिने जानकारी दिदै उहाँले रारासम्म पुग्नका लागि सडक मर्मतको कार्य पनि तिब्र गतिमा भइरहेको जानकारी दिनुभयोे ।
मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको गरिबि हटाउन पर्यटन मुख्य आधार भएकाले पर्यटन वर्षका रुपमा मनाउन लागेको बताउदै ‘गरिबि हटाउनका लागि एउटा आधार पर्यटन पनि हो भनेर हामीले यसको विकास गर्नुपर्छ भनेर लागेका छाँै’ उहाँले थप्नुभयो, ‘हामीले सुरुमा पर्यटकिय गन्तव्यसम्म पुग्ने प्रचारप्रसार गर्न पर्यटन वर्ष मनाउन लागेका हाँै । वर्षभरी पर्यटकहरु सबैको गाउँगाउँमा पुग्छन् र त्यहाँका जनताहरुमा खानेकुरा भए पैसा आउँछ भन्ने चेतनाको विकास हुन्छ । पर्यटकहरुले पैसा लिएर आउँदा कर्णालीमै खर्च गराउने वातावरण गराउँछौँ भन्दै पर्यटन वर्ष भरी स्थानीय उत्पादनलाई प्रोत्साहन गरिने र पर्यटकिय क्षेत्रमा लगानी गर्ने वातावरण सृजना गरिने बताउनु भयो । उहाँले कर्णालीको प्रकृति कस्तो छ भनेर हेर्नका लागि पनि पर्यटनको विकास गर्न आवश्यक रहेको भन्दै पर्यटन वर्षलाई सफल गराउन सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्न आनुरोध गर्नुभयो ।
प्रदेश सरकाले अहिले कर्णाली प्रदेशमा वर्षमा ५० हजार मात्र पर्यटकहरु आउने गरेको भन्दै आगामी वर्ष पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको प्रचारप्रसार समिति संयोजक एव्म सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिनुभयो । प्रदेश सरकाले प्रत्येक दिन एक हजार पर्यटक भित्राउने र यसका लागि वार्षिक कार्ययोजना पर्यटन मन्त्रालयले निर्माण गरीरहेको उहाँले जानकारी दिनुभयो । कर्णालीलाई पर्यटकको हवका रुपमा विकास गर्ने र दश वटै जिल्लामा रहेका पर्यटकिय क्षेत्रमा गतिविधिहरु सञ्चालन गरिने उहाँले बताउनु भयो । ‘एक वर्षको अवधिमा कर्णाली प्रदेशका पर्यटकिय स्थलहरुको प्रचारप्रसार गछाँै । सल्यानको कुपिण्डे दह, सुर्खेतको काँक्रेबिहार, देउती बज्जै, कालीकोटको पचाल झना, डोल्पाको से–फोक्सुण्डो ताल, दैलेखको ज्वाला लगायत लुकेर रहेका पर्यटकिय स्थलसम्म हामी पर्यटकहरु पु¥याउँछौँ’ उहाँले दाबी गर्नुभयो । ‘यसका साथै स्थानीय स्तरमा रोजगारीको सृजना गर्ने र कर्णाली प्रदेशको गरिबि हटाउने लक्ष्य लिएका छाँै उहाँको भनाई थियो ।’
मन्त्री रावलले उद्घाटन कार्यक्रमा प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीहरु, संघिय सरकारका मुख्य र मन्त्रीहरु, संघिय सांसद, प्रदेश सांसदहरु कुटनितिक व्यक्तिहरु तथा राजदुतहरु, स्थानीय सरकारका प्रतिनिधि, स्थानीय नागरिकहरुको सहभागिता पनि रहने विस्वास ब्यक्त गर्नुभयो ।




Milan Shrestha । १७ चैत्र २०७४, शनिबार ०७:१३ बजे