आशिष चौधरीको वयानः मैले सबैभन्दा बढी माया गर्ने मनिषालाई नै हो


‘मनिषा झुण्डिएकी थिर्इ, भूइँमा झारेर घर गएँ’

१५ जेठ, भैरहवा । नेपाल राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीमगरकी बहिनी मनिषाको हत्या आरोपमा पक्राउ परेका आशिष चौधरीले प्रहरीलाई दिएको वयान अनलाइनखबरले फेला पारेको छ ।

शुक्रबार बिहान नवलपरासीस्थित आफ्नै घरमा मनिषा मृत अवस्थामा भेटिएकी थिइन् । घटनापछि पक्राउ परेका मनिषाका प्रेमी आशिष चौधरी अहिले प्रहरीको नियन्त्रणमा छन् । उनले मनिषालाई थप्पड हानेको तर नमारेको प्रहरीसमक्ष वयान दिएका छन् । साथै उनले भुण्डिएकी मनिषाको घाँटीको डोरी आफूले खुस्काइदिएको प्रहरीलाई बताएका छन् ।

चौधरीले प्रहरीलाई दिएको वयानको सार यस्तो छः

मैले सबैभन्दा बढी माया गर्ने मनिषालाई नै हो । मैले मनिषाको हत्या गरेको होइन । हो, म बिहीबार राति मनिषाको घर गएको थिएँ । मलाई मनिषाले बोलाएकी थिई । मलाई मेरो मोटरसाइकलमा साथी निर्मल रायमाझीले उसको घरनजिकै  छोडिदिएको थियो ।

म उसको घर जाँदा रक्सी खाएर गएको थिएँ । मनिषाले रक्सी खाएको थाहा पाएपछि सधै रक्सी खान्छौँ, किन रक्सी खाएर आएको भनेर प्रश्न गरी ।

बिहीवार बिहान मनिषा साथीसँग घुम्न गएका बेला मैले फोन गरेर कहाँ घुम्न गएकी, कसलाई भेट्न गएकी चाँडै घर फर्की भनेको थिएँ । त्यही विषयमा हाम्रो झगडा सुरु भयो ।

aashish chaudhary

आशिष चौधरी

मनिषाले मलाई आफ्नो अन्डरमा किन राख्न खोजेको भनी । मैले मेरो सिमकार्ड र गिफ्टहरु फिर्ता देउ,  म पनि तिम्रा गिफ्टहरु दिन्छु भनें । झगडा हुदाँहुदै मनिषाले मलाई एक थप्पड हानी । र, मैले पनि उसलाई थप्पड हानें । अनि मैले कोठामा राखिएको सोकेसमा हातले हानें । सिसाले मेरो हात काट्यो र हातबाट रगत चुहिन थाल्यो ।

त्यसको केहीबेरपछि मनिषाले मोवाइलमा फेसबुक चलाउन थाली । म घर जान्छु भनेर घरबाट निस्कें । तर, म गइँन र घर बाहिरको बरन्डामा बसें । र, त्यहीँ निदाएँ ।

राति म ब्युँझिएर फेरि घरभित्र जाँदा मनिषाको शरीर झुण्डिएको अवस्थामा देखेेपछि मैले उसको शरीरलाई तल झारेर राखें ।
मनिषा मरी भनेर म निकै डराइसकेको थिएँ । त्यसपछि हतार-हतार आफ्नो घरतिर गएँ ।

बिहानको समयमा तपाईहरु (प्रहरी) ले पक्राउ गरेर मलाई यहाँ ल्याउनुभयो । मनिषाको मृत्यु कसरी भयो, मलाई थाहा छैन । यदि मैले मनिषाको हत्या गरेको भए म घरमा बस्ने थिइँन, घरबाट भाग्ने थिएँ होला । मैले मनिषाको हत्या नगरेका कारण म घरमै बसें । मैले हत्या गरेकै होइन । कसरी मृत्यु भयो, मलाई थाहा छैन ।

(प्रहरीले दिएको जानकारीका आधारमा)

‘मरिदिने’ म्यासेज

मनिषाले प्रयोग गर्ने मोबाइल नम्बरबाट आशिषको मोबाइलमा ‘मलाई तपाईले सधैं टर्चर गर्नुहुन्छ, म मरिदिन्छु’ भन्ने म्यासेज गएको प्रहरी अनुसन्धानमा पाइएको छ । मोबाइल म्यासेज मार्फत मनिषा र आशिषवीच धेरै कुरा भएको देखिएको छ । तर, त्यही मोबाइल नम्बरबाट उनीहरुवीच नै म्यासेज मार्फत कुरा भएको हो वा होइन भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको बुझिएको छ । प्रहरीले उनीहरुले प्रयोग गर्ने नम्बरको कल डिटेल निकालेर अनुसन्धान गर्ने तयारी गरिरहेको छ ।

फेसबुक स्टाटस

मनिषाले केही महिनाअघि आफ्नो फेसबुकमा ‘आइ वान्ना स्लिप फरऐभर'(म सधैंका लागि निदाउन चाहन्छु) लेखेकी थिइन् । यसले मनिषा केही महिनायतादेखि तनावमा रहेको प्रहरीले अनुमान गरेको छ ।

manisha Gharti Magarतर, प्रहरीको दाबी अनुसार मनिषाको फेसबुक आशिषले पनि चलाउँथे । मनिषाको फेसबुक आइडी खोलेर त्यसमा रहेका केटा साथीहरुलाई ब्लक गरिदिने, गाली गर्ने जस्ता कामहरु उनले गर्थे । जसका कारणले पनि मनिषा तनावमा रहेकी थिइन् ।

प्रहरीले घटनाबारे राति मनिषाको घर नजिकसम्म छाड्ने जाने आशिषका साथी निर्मल रायमाझीसँग पनि सोधपुछ गरेको छ । रायमाझीले आफूले आशिषलाई मनिषाको घर नजिकै आशिषकै मोटरसाइकलमा छाडेको र आशिषको मोटरसाइकल उसको घरमा पुर्‍याएर आफु आफ्नो घरमा गएको प्रहरीलाई बताएका छन् ।

पोष्टमार्टम रिपोर्ट पर्खँदै प्रहरी

प्रहरी नियन्त्रणमा रहेका चौधरीलाई प्रहरीले ज्यान मार्ने मुद्दा अन्तरगत जिल्ला अदालतबाट एक हप्ताको म्याद थप गरेको छ । चौधरीको प्रराम्भिक बयान मात्रै लिइएको बताउँदै प्रहरी अधिकारीले अनलाइनखबरसँग भने- ‘चौधरीको प्रराम्भिक वयान लिएका छौँ, तर त्यसमा कति सत्यता छ र कति झूठो हो भन्ने विषयमा पुष्टि गर्न पोलिग्राफ मेसिनबाट जाँच गरिनेछ ।’

मनिषा शवको काठमाण्डौँमा पोसमार्टम भइसकेको छ । मनिषाको हत्या भएको हो वा आत्महत्या ? यस विषयमा अहिल्यै केही भन्न नसकिने प्रहरीको भनाइ छ । ‘घटनाबारे अनुसन्धान गरिरहेका छौँ, नवलपरासीका एक प्रहरी अधिकारीले अनलाइनखबरसँग भने, घाँटी थिचेर हत्या गरिएको हो वा आत्महत्या हो, पोस्टमार्टम रिपोर्ट आएपछि तथ्यहरु खुल्नेछन् ।’

साभारः अनलाइन खबर