
अविरल ढकाल, जुम्ला
चैत्र २६ । कर्णाली-रारा पर्यटन बर्ष पर्यटकको स्वागतका लागि स्थानीय उत्साही भएका छन । पर्यटन बर्ष मूल समितिले रारामा होटलको अभाव भएपछि पर्यटक र अतिथिलाई गाउँमा बासको व्यबस्था गर्ने निर्णय गरेको छ ।
पाहुनालाई गाउँमा बसाउने निर्णय भएपछि पिना, झयारी, कोटीला, ताल्चा, तलितुम लगायत १२ गाउँका स्थानीयले स्वागतको तयारी थालेका हुन । गाँउ घरमा पर्यटक आउने भएपछि आफ्नो घर र वरपरको वातावरण स्थानियले सफाई गर्न थालेका छन ।
स्थानीयबासी अहिले घर लिपपोत, आँगनको सरसफाई, बिजुली र शौचालयको व्यबस्थापनमा गर्ने कार्यमा व्यस्त भएका छन् । कमेरो र रातो माटोले लिपेर परम्परागत घरहरू चिटिक्क बनाइएको छ । ‘आएका पाहुनालाई कसरी सत्कार गर्ने र खानपिनको ब्यबस्था गर्ने भन्ने बिषयमा योजना बनाउन र त्यसको कार्यान्वयन गर्न थालिएको छ,’ पिना गाउँका धर्मराज बमले भने,’ राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रका बस्तीमा सात सय बढी पर्यटक अटाउनेगरि तयारी थालिएको छ ।’ छायाँनाथ रारा नगरपालिका ७ का वडा अध्यक्ष हरिचन्द्र शाहीले गाउँमा बास बस्न आएका पाहुनाहरूलाई फुलमाला र अबिरले स्वागत गर्ने र बेलुका देउडा, झोडा चम्फा लगायतका पुराना नाच देखाइने बताए । पर्यटकलाई स्थानीय मन्दिर र अन्य पर्यटकीय स्थलको समेत अवलोकन गराउने तयारी गरिएको उनले बताए ।
रारा आउने पर्यटकको सहजताका लागि मुगु र जुम्लाको सिमाना घुच्चीलेकदेखि गमगढी बजारसम्मको सडक सुधार गर्न थालिएको छ । सडक डिभिजन कार्यालय जुम्लाबाट डोजर मगाएर सडक फराकिलो बनाउन थालिएको हो । सडकमा गिट्टी बिछ्याउने, नाला सफा गर्ने, लगायतका कामलाई तिब्रता दिएको डिभिजन सडक जुम्लाले जनाएको छ ।
घुच्चीलेकदेखि गमगढीसम्मको सडक फराकिलो र सफा देखिन थालेको स्थानीयले बताएका छन । बिभिन्न स्थानमा पार्किङ्कको ब्याबस्था गरिएको छ । रारा आउने पाहुनाको सहजताको लागि सडकको सुधार गरिएको डिभिजन सडक कार्यालय जुम्लाले जनाएको छ ।
कर्णाली-रारा पर्यटन बर्ष अबधिभर पाहुना बसाउने गाउँमा मदिरा निषेध गरिएको समितिले जनाएको छ । मदिरा सेवनले गाउँमा बस्न आएका पर्यटकलाई नकारात्मक असर पर्ने भन्दै समितिले निषेध गरेको हो । गाउँमा मदिरा नियन्त्रण गर्न युवा समिति र महिला समितिलाई सक्रिय बनाइएको छ । शान्ति सुरक्षा सहज बनाउन र कुनै अप्रिय घटना हुन नदिन मदिरा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।
रारा आएका आन्तरिक तथा बाहृय पर्यटकलाई रारा र आसपासका क्षेत्रमा घुमाउन युवा समिति गठन गरिएको छ । युवाले नै पर्यटकलाई रारासम्म ल्याउने छन । समितिमा पढेलेखा युवायुवतीलाई सहभागी बनाएर सबैजसो गाउँमा समिति गठन गरिएको हो ।



Prawash Kumar Shakya । २६ चैत्र २०७४, सोमबार १५:१७ बजे