बैसाख १५, काठमाडौं ।
विश्व शिक्षक महासंघको १९ औं अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ । सम्मेलन आगामी असोज ६ र ७ गते काठमाडौंमा हुने भएको हो ।
नेपालमा पहिलो पटक हुन लागेको सम्मेलनमा १ सय ५० बढी देशका शिक्षकहरु २ सय बढी शिक्षक प्रतिनिधिहरुको सहभागिता रहने जनाइएको छ । शुक्रवार राजधानीमा पत्रकार सम्मेलन गरेर महासंघले १९ औं अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा गर्ने तय भएको जनाएको हो । महासंघकी अध्यक्ष मफुजा खानामले १९ औं अन्तर्राष्ट्रिय सम्मेलन नेपालले आयोजना गर्ने स्पष्ट पार्दै सम्मेलन सफल हुनेमा आफु विश्वस्त रहेको बताइन् ।
अध्यक्ष खानामले सम्मेलन समाजवादी शिक्षाको विकास, सार्वजनिक शिक्षाको गुणस्तर सुधार र समावेशी शिक्षाका पक्षमा महत्वपूर्ण रहने समेत जानकारी दिइन् ।
पत्रकार सम्मेलनमा महासंघका महासचिव अमिया कुमार मोहन्तीले विश्वभरका शिक्षकहरु नेपालमा आएर शैक्षिक बहस गर्नु नेपालका लागि अवसर भएको बताए । भर्खरै संघीयता प्रणालीमा शैक्षिक व्यवस्थापन शुरु गरेको नेपाललाई अन्य देशका राम्रा अभ्यासहरु सिक्ने र समाजवादी शिक्षा विकास गर्ने मौका मिल्ने समेत उनको भनाई थियो ।
नेपालको तर्फबाट महासंघमा आवद्ध एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारले विश्वमा नवउदार वादीहरुले शिक्षा, शिक्षक र ट्रेड युनियनमा हमला गर्दै निजीकरण स्थापित गर्न खोजिरहेको अवस्थामा विश्व शिक्षक महासंघले त्यस हमलाको संयुक्त रुपमा प्रतिरोध गर्ने निर्णय गरेको जानकारी दिए ।
सरकारले शिक्षकहरुसँग विभिन्न सहमति गर्ने तर सहमतिको मसी सुक्न नपाउँदै त्यसलाई तोड्ने गरेको तितो यथार्थ बीच महासंघको अन्तर्रा्ष्ट्रिय सम्मेलनले शिक्षामा भइरहेको पुजीवादी हमलाहरुको न्युनिकरणका सम्बन्धमा विशेष निर्णय गर्ने अधिकारीले स्पष्ट पारे ।
सम्मेलनमा सार्वजनिक विद्यालय सुधार, विश्वभरका शिक्षकहरु बीच एकता र भाइचारा सम्बन्ध निर्माण, समावेशी शिक्षा, शिक्षकहरुको अधिकार र कर्तव्यको बोध गराउनका साथै, विभिन्न देशका शैक्षिक सीप र ज्ञान बाड्ने काम हुने महासंघका सचिव डा. एमडी जहानगीरले जानकारी दिए ।
विश्व शिक्षक महासंघको १८ अन्तर्राष्ट्रिय सम्मेलन बंगलादेशमा भएको थियो । १९ औं सम्मेलनले चारवर्षका लागि नयाँ नेतृत्वसँगै आगामी कार्यायोजना तय गर्ने महासंघले जनाएको छ ।
महासंघमा रसिया, चीन, क्युवा, भियनताम, भारत, श्रीलंका, बंगलादेश, नेपाल, उत्तर कोरिया, भेनेजोयला, पेरु, रोमानिया, इटाली, फ्रान्स लगायतका १५० बढी देशका १ करोड बढी शिक्षकहरु आवद्ध रहेका जनाइएको छ ।
महासंघमा नेपालका एकीकृत अखिल नेपाल शिक्षक संगठन, माध्यमिक विद्यालय शिक्षक एसोसियशन नेपाल (हिस्टान), अखिन नेपाल शिक्षक संगठन र अखिल नेपाल शिक्षक संघ आवद्ध रहेका छन् ।
महासंघमा विश्वभरका समाजवादी विचारका शिक्षकहरु आवद्ध रहेका छन् । महासंघले समाजवादी शिक्षाको माग गर्दै आएको छ ।



Milan Shrestha । १५ बैशाख २०७५, शनिबार ००:२९ बजे