
१८ बैशाख, बुटवल — नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी ओली अहंकारमा उभिएको र वाम सरकार तानाशाही बन्न लागेको आरोप लगाएका छन् । रिपोर्टर्स क्लव प्रदेश ५ ले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री ओली काम गरेर देखाउनुको साटो अरुलाइ खिसिट्युरी गरेर दिन बिताउन लागेको बताए ।
उनले बहुमतको सरकार भएको बेला सरकार अहंकारी नभइ जनताप्रति उत्तरदायी भइ आफ्नो कर्तव्य निर्बाहमा लाग्नुपर्ने पनि सुझाव दिए।
‘यो खिसिट्युरी गर्ने, अहंकार गर्ने अरु सब गलत भन्ने बेला होइन। काम गर्ने बेला हो,’ उनले भने। सरकारका कतिपय काम लोकतन्त्र विरोधी भएको भन्दै नेता रिजालले लोकतन्त्रको बाटो हिँड्न र नमुना काम गरेर देखाउन आग्रह समेत गरे।
सरकारले जनतालाई पेल्ने र थिचोमिचो गर्ने गरेको भन्दै उनले कम्युनिष्ट सत्तालाई लोकतन्त्रको बाटोमा हिँडाउन अब कांग्रेसको भूमिका आवश्यक रहेको बताए। यसका लागि कांग्रेसमा बहुमत र अल्पमतका आधारमा निर्णय गर्ने परिपाटी अन्त्य गर्नुपर्ने उनको भनाइ थियो।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका उनले कांग्रेस भित्र असहमति हटाएर सबै एक साथ हिँडेर अघि बढ्नुपर्ने बताए। कांग्रेसमा पदाधिकारी नियुक्तिका बेला छलफल गरेर जान देउवालाई रिजालको सुझाव छ। ‘एकलौटी निर्णय भए मान्य हुँदैन, सहमतिका आधारमा पदाधिकारी नियुक्त गर्नुपर्छ,’ उनले भने।
इकान्तिपूरबाट
Milan Shrestha । १८ बैशाख २०७५, मंगलवार ०९:१४ बजे