सुर्तीजन्य पदार्थको खोल सादा बनाइँदै


सुर्तीजन्य पदार्थको खोल सादा बनाइँदै

काठमाडौं, १९ जेठ
सरकारले सुर्तीजन्य पदार्थको खोललाई सादा बट्टामा प्याक गर्नुपर्ने नियम बनाउने तयारी गरेको छ । हाल ९० प्रतिशत भागमा चेतावनीमूलक चित्र र सन्देश कार्यान्वयनको चरणमा छ ।
पूर्ण रूपमा कार्यान्वयनमा आएन ९० प्रतिशत चेतावनीयुक्त सन्देश
विश्व स्वास्थ्य संगठनले यस वर्षको सुर्तीरहित दिवसको नारा ‘सादा बट्टामा सुर्तीजन्य पदार्थ पोको पार्न तयार रहौँ’ भन्ने राखेको छ । तर, सरकारले गत वर्ष २ जेठदेखि लागू हुने गरी तोकिएको ९० प्रतिशत चेतावनीयुक्त चित्र तथा सन्देश छाप्नुपर्ने नियम पूर्ण रूपमा लागू गर्न सकेको छैन ।
‘सादा खोलको विकल्प छैन’
धूमपान सेवन न्यूनीकरणका लागि सादा प्याकमा जानुको विकल्प नरहेको स्वास्थ्य राज्यमन्त्री मोहमद मुस्ताक आलमले बताए । उनले हाल नेपालले धूमपानविरुद्ध धेरै काम गरेकाले आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्न सादा प्याकमा जानुपर्ने उनको भनाइ छ । ‘अबका दिनमा सुर्तीजन्य पदार्थलाई सादा बट्टामा प्याक गरी विज्ञापनलाई निरुत्साहित गर्नुपर्छ र चेतावनीमूलक सन्देशलाई बढावा दिनु आवश्यक छ,’ उनले भने । ९० प्रतिशत चेतावनीयुक्त तस्बिर अनिवार्य छपाइ कार्यान्वयनमा आउनु पनि ठूलो कुरा भएको उनको भनाइ छ । ९० प्रतिशत चेतावनीयुक्त तस्बिर र सन्देश कार्यान्वयनसँगै अब सादा खोल छापेर अरू देशका लागि उदाहरणीय हुने उनको दाबी छ ।
‘लक्ष्य सादा खोल नै हो’
स्वास्थ्यसचिव शान्तबहादुर श्रेष्ठले ढिलोचाँडो सुर्तीजन्य पदार्थको खोल सादामै जाने बताए । वार्षिक १५ हजार नेपाली जनताको मृत्युका कारण रहेको सुर्तीजन्य पदार्थलाई निरुत्साहित गर्न सरकारले जुनसुकै कदम चाल्न सक्ने उनले बताए । सरकार अहिले कार्यान्वयनको चरणमा रहेको अनिवार्य ९० प्रतिशत चेतावनीयुक्त चित्र र सन्देश छाप्नुपर्ने नियमलाई पूर्ण रूपमा कार्यान्वयन गराउनतर्फ लागेको उनको दाबी छ । सो कानुन पूर्ण रूपमा कार्यान्वयन भएपछि सादा खोलको प्रक्रिया अगाडि बढ्ने सजिलो हुने उनको भनाइ छ । ‘अहिले हमी ९० प्रतिशत चित्र र सन्देश कार्यान्वयन गराउने प्रक्रियामा छौँ,’ उनले नयाँ पत्रिकासँग भने, ‘तर सरकारको अबको लक्ष्य भनेकै सादा खोल नै हो ।’
चेतावनीयुक्त सन्देशको प्रभाव
सरकारले चित्रात्मक सन्देशमा कडाइ गरेसँगै सुर्ती सेवनमा कमी आएको स्वास्थ्य कर कोषका सदस्य सचिव खिमानन्द भुसाल बताउँछन् । सुर्ती सेवनमा कमीसँगै यसबाट मृत्युदरमा पनि कमी आएको उनको दाबी छ । ‘विभिन्न संघसंस्थाले गरेको प्रारम्भिक अध्ययनले चित्रात्मक सन्देश आउन थालेपछि सुर्तीजन्य पदार्थ सेवनकर्ता घटेको देखाएको छ,’ उनले भने, ‘साथै सुर्तीजन्य पदार्थ सेवनका कारण हुने मृत्युदर पनि कमी आएको छ ।’
‘सादामा जानुपर्छ’
हाल कार्यान्वयनको चरणमा रहेको ९० प्रतिशत चेतावनीयुक्त चित्र र सन्देशको कानुन बनाएर नेपाल विश्वमै उदाहरणीय बनेको एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्द बताउँछन् । सोही कारण पनि नेपालले चाँडै सादा प्याकेटमा जानुपर्ने कानुनका लागि तयारी गर्नुपर्ने उनको सुझाब छ । ‘सुर्तीजन्य पदार्थविरुद्ध नेपालले विश्वसामु राखेको साखलाई अझ उच्च बनाउन सादा प्याकमा जानुपर्छ,’ चन्दले भने, ‘सादा प्याकमा जाँदा स्वास्थ्यको क्षेत्रमा नेपालको पहिचान अझ स्थापित हुन्छ ।’

साभारः नयाँपत्रिका अनलाइन