दलित युवाका पसल : पहिले बहिष्कार अहिले भीडभाड


 मिलन परियार
डोटी–सदरमुकाम सिलगडीको फेमिना मासु पसलमा बिहानैदेखि मासु किन्नेको घुइँचो लाग्छ । ग्राहक झन्डै एक घन्टा हिँडेर यो पसलमा मासु किन्न पुग्छन् । हरेक बिहान पसलअगाडि २०–३० जनाको लाइनमा मानिस पालो कुरेर बसेका हुन्छन् । तीनजना कामदार भ्याइनभ्याई मासु काटिरहेका हुन्छन् । मासु पसल दीपक नेपालीको हो । नौ वर्षअघि पनि नेपालीले सिलगडीमा मासु पसल खोलेका थिए । दलितले छोएको मासु खानुहुँदैन भनेर ग्राहक आएनन् । लगानीसमेत नउठेपछि दीपक पैसा कमाउन भारत गए । भारतमा कमाएको ५० हजार रुपैयाँले सिलगडीमै मासु पसल खोलेका उनको पसलमा भीडभाड त लागेको छ नै, सँगसँगै लगानी बढेर १० लाख पुगेको छ । म्
मासु पसलको लाइनमा भेटिएका लोकबहादुर बम भन्छन्, ‘जुनसुकै जातका भए पनि बोली व्यवहार राम्रो हुनुपर्यो । जातभन्दा व्यवहार हेरेर किनमेल गर्ने हो । त्यसैले म सधैं यहींबाट मासु किन्छु ।’ अहिले दीपकको पसलमा विभिन्नमा जातका कुखुरा, माछा पाइन्छन् । उनी दिनको ५० केजीसम्म माछा मासु बेच्छन् ।
डोटीका अर्का उद्यमी प्रतापसिंह विकको स्थिति पनि दीपकको जस्तै थियो । विक सन्ध्या ग्रामीण नमुना डेरी उद्योग सञ्चालन गर्ने सोच बनाएर विभिन्न गाविसमा दूधका ग्राहक खोज्न थाले । तर, कसैले पनि दलित भनेर दूध दिन मानेनन् । दलितलाई दूध दिँदा गाई भैंसीले दूध दिन छाड्छ भन्ने गलत मान्यताका कारण उनले दूध पाएनन् । सुरुमै तीन÷तीन हजार दिन्छु भन्दा पनि दूध नपाएपछि २०६४ सामा दर्ता गरेको डेरी उद्योग झन्डै–झन्डै बन्द भयो ।
तर पनि प्रतापले हिम्मत हारेनन् । उनले केही दलितका घरबाट दूध संकलन गरेर डेरीको काम जारी राखे । आइसक्रिम र खुवा बनाउँदै गए । जुन परिकार जिल्लामा मात्र होइन, डडेल्धुरा र अछाममा पनि बिक्न थाले । व्यवसायले ठूलो रूप लिन थाल्यो । एकपछि अर्को गर्दै केही गैरदलितबाट पनि प्रतापले दूध किन्न थाले । बिस्तारै धेरै गैरदलित दूध बेच्न प्रतापको डेरीमा आउन थाले । उनको उद्योगमा अहिले २७ जनाले काम गर्छन् । त्यसमा अधिकांश गैरदलित युवा छन् ।
पुख्र्यौली पेसा छाडेर अन्य व्यवसायमा हात हालेका दलित युवा अहिले डोटीमा प्रशस्तै भेटिन्छन् । जातीय विभेद तथा छुवाछूत घटनामा कमी आएपछि दलित युवा विभिन्न व्यवसायमा लागेका हुन् । सिलगडीमा १२ वर्ष अघिदेखि होटल सञ्चालन गर्दै आएका उद्धव बागचनको होटलमा ग्राहक आएनन् । दलितको होटलमा खान हुन्न भन्ने सोचले धेरैलाई लागेको थियो । तर, समय फेरियो । मानिसका विचार फेरिए । त्यसैले १२ वर्षपछि फेरि उही काम थालेका बागचनको पेसाले फड्को मारेको छ । ग्राहक आउँछन्, बस्छन् । केही भेदभाव छैन । उनले यही पेसालाई निरन्तरता दिने सोच बनाएका छन् ।
जंगबहादुर राणाले संवत् १९१० मा मुलुकी ऐन ल्याए । नेपालमा चलिआएको जातपातको कुप्रथा यो ऐनले मजबुत र बलियोमात्र बनाएन, मानिसलाई जातका आधारमा भेदभावमा गर्न थालियो । पानी चल्ने र पानी नचल्ने जात भनेर जातका आधारमा मानिसले मानिसलाई गर्ने अभद्र व्यवहार त्यहींबाट सुरु भयो । राज्यले ५२ वर्षअघि २०२० सालमा यो गल्ती सच्च्यायो । जातीय रूपमा गरिने छुवाछूत अन्त्य भएको घोषणा गरियो । तर, अपेक्षा गरेअनुसार व्यवहारमा विभेद हटेन । यद्यपि, पछिल्ला समय हाम्रो समाजमा परिवर्तनका यस्ता कथा देखिन थालेका छन्, जुन समाज परिवर्तनका सकारात्मक सूचक पनि हुन् ।