यार्साबाट उठ्यो ७५ लाख स्थानीय कर


imagesयस वर्ष विभिन्न पाटनमा सङ्कलन गर्न पुगेका सङ्कलकबाट प्रवेश शुल्कबापत लगिएको शुल्कबाट ७५ लाख स्थानीय कर उठेको छ।
सदाझैं यार्सा टिप्न जाने प्रवेशद्वार सिरानी चौरमा यही जेठ १० गतेदेखि जेठ १८ गते बिहानसम्म जम्मा भएका चार हजार ४६६ सङ्कलकबाट यार्सा सङ्कलन व्यवस्थापन समितिले उक्त कर उठाएको हो।
यस वर्ष मुगु गाविस बाहेका जिल्लाका २३ गाविसका बासिन्दालाई प्रतिव्यक्ति प्रवेश शुल्क १ हजार ५ सय र बाहिरी जिल्लाका सङ्कलकलाई २ हजार शुल्क तोकिएको थियो।
मुगु गाविसका सचिव रेशमबहादुर रावलका अनुसार यस वर्ष विगतका तुलनामा ७५ प्रतिशत सङ्कलक घटेको र यार्सा सङ्कलन गर्न दुई हजार छ सय ७२ जना जिल्लावासी र एक हजार सात सय ९४ जना बाहिरी जिल्लाबाट यार्सा सङ्कलन गर्न मुगु पुगेका थिए।
सङ्कलित स्थानीय करमध्येबाट २२ लाख ५० हजार व्यवस्थापन खर्च भएको र त्यो खर्च घटाएर बाँकी हुन आएको ५३ लाख ४६ हजारलाई शतप्रतिशत मानी उक्त रकममध्ये २० प्रतिशत जिविस, ७५ प्रतिशत मुगु गाविस र पाँच प्रतिशत स्थानीय सहयोग समितिमा बाँडफाँट गरिएको सचिव रावलले बताए।
सङ्कलकलाई आगामी असार १५ गतेसम्मका लागि सङ्कलन गर्न अनुमति दिइएको छ। विगत वर्षमा कर उठाएपछि सुरक्षा निकाय जिल्लामा फर्कँदा पाटनमा आपराधिक क्रियालाप बढेको, वन्यजन्तु चोरीसिकार हुने गरेको र पाटनमै यार्सा किनबेच हुँदा करोडौँको रकम लुटपाट भएकाले यस वर्ष जिल्ला प्रशासन कार्यालयको पहलमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र से फोक्सुन्डो राष्ट्रिय निकुन्जले ओगटेको मुगु जिल्लाको भूभागमा नेपाली सेना ठूलो मात्रामा असार १५ सम्म बस्ने गरी खटाइएको छ।
चोरी सिकार, निकासी हुने हुम्ला, डोल्पा र तिब्बत नाकामा दुवै प्रहरीको संयुक्त टोलीले उपआधार शिविर खडा गरिएको, सिरानी चौरमा आधार शिविर राखी सुरक्षाको व्यवस्था मिलाइएको र सङ्कलनस्थल पाटनमा गस्ती बढाइएको प्रहरी नायब उपरीक्षक सोमबहादुर थापाले बताए।
साभारः सेतोपाटी अनलाइन