असारे विकास, ६ दिनमित्रै १ करोड ३५ लाख सक्ने दाउमा सुर्खेत जिविस


P1080908-560x420सुर्खेत १९, असार । चालु आर्थिक वर्ष सकिनै लाग्दा सुर्खेतका ३ वटा सडकलाई एक्कासी १ करोड ३५ लाख रुपैया आएपछि जिल्ला विकास समितिमा अहिले खैलावैला मच्चिएको छ । स्थानीय विकास मन्त्रालयले सुर्खेत उपत्यका चक्रपथ, गढी लेखगाउँ धनीगाड कल्याणकाँधी सडक र बावियाचौर भत्तडी जंगलाघाट सडकका लागि ४५ लाखका दरले बजेट अपर्झट पठाएको हो । रकमको सहमति आउन वित्तिकै जिविसले इष्टिमेट विना नै सडक खन्ने जिम्मा समेत दिइसकेको पाइएको छ ।

अरु बेला बजेट माग्दा दिन आनाकानी गर्ने मन्त्रालयले अपर्झट १ करोड ३५ लाख बजेट पठाएपछि छोटो समयमा यतिधेरै रकम कसरी सिध्याउने भन्नेमा जिविस लागिपरेको छ । रकमले चक्रपथमा ५ मिटर २५ सेमीमा रोलिङसहितको स्ट्याण्र्ड ग्राभेल गर्ने, बावियाचौर भत्तडी सडक चौडा गर्ने र नाली खन्ने तथा गढी लेखगाउँ सडकमा नयाँ ट्र्याक खोल्ने र चौडा बनाउने काम गरिने जिल्ला प्राविधिक कार्यालय सुर्खेतले बताएको छ ।

कार्यालय प्रमुख शम्भु मिश्रले ३ वटै सडकको इष्टिमेट गर्न टोली पठाइएको र त्यसपछि काम सुरु गरिने दावी गरेका छन । तर बावियाचौर भत्तडी जंगलाघाट सडकमा इन्द्रबहादुर रावललाई कामको जिम्मा दिइसकेको पाइएको छ । रावलले शनिवारदेखि नै ३ वटा टिप्पर र २ वटा स्काभेटर प्रयोग गरेर सडकको काम सुरु गरिसकेको स्थानीयले जनाएका छन । नाम मात्रको काम गरी कागज मिलाएर खान पल्केका जिविसका कर्मचारीहरु जसरी पनि काम गर्ने पक्षमा छन । त्यसैले प्रक्रिया मिच्दै विना इष्टिमेट नै कामको जिम्मा दिइएको दलहरुले वताएका छन ।

सडक बनाउने विषयमा भने जिविस र राजनीतिक दलहरुवीच कुरा बाझिएको छ । जिविसले पुरानै उपभोक्ता समितिबाटै काम गर्ने मनसायमा छ भने दलहरुले नयाँ उपभोक्ता समिति गठन गरेर काम गर्नुपर्नेमा जोड दिएका छन् । नयाँ समिति गठन गर्न समय नभएको हुँदा पुरानै समितिबाट काम गराउने भन्नेमा छलफल भइरहेपनि निर्णय भने हुन नसकेको मिश्रले जानकारी दिए ।

दलहरु र जिविसको जुहारीले गर्दा सडकमा काम कसरी गर्ने भनेर टुंगो लाग्न सकेको छैन । यस बिषयमा २ पटक बैठक बस्दा पनि काम गर्ने विषयमा टुंगो अझै लागेको छैन । जिविसले एकातिर दलहरुसंग छलफल गरिरहेको छभने अर्कोतिर बजेट छिटो सिध्याउनको लागि कामको जिम्मा समेत दिइसकेको वताएको छ ।

यही असार १५ गते मन्त्रालयले जिविसलाई सहमति मात्र दिएको छ । त्यही सहमतिको आधारमा काम सुरु गर्न जिविस हत्तातिएर लागेको छ । सडकका लागि अहिले लिखित सहमति मात्र आएको तर बजेट र अख्तियारी भने नआएको इन्जिनियर मिश्रले बताए । आर्थिक बर्ष सकिनै लाग्दा अपर्झट १ करोड ३५ लाख रकम कसको तजवीजमा आएको भनेर जिविसले खुलाउन चाहेको छैनभने सुर्खेतका राजनीतिक दलहरु पनि अन्यौलमा छन् ।

उक्त बजेटबारे सोधपुछ गर्न जिविसमा आएका एक दलका नेताले भने बजेट कसको तजविजमा आएको रहेछ भनेर वुझन आएपनि जिविसले केही नवताएको उल्लेख गरे । उनले भने केही काम गर कागज मिलाउ र खाउ भनेर बजेट आएकोले जिविस हत्तारिए लागेको छ । असार २५ गतेसम्म काम गरिसक्नुपर्ने हुन्छ तर यति धेरै बजेट थोरै समयमा काम गर्दा कतिको गुणस्तरीय हुन्छ उनले शंका समेत गरेका छन ।

काम गर्ने थोरै समय भएकोले बजेट कसरी खर्च गर्ने भन्नेमा काँग्रेस दोधारमा रहेको, एमालेले यसमा सहभागी नै नहुने वताएको र माओवादी केन्द्रले नयाँ उपभोक्ता समिति बनाएर काम गर्नुपर्ने वताएको स्रोतले जनाएको छ ।
अनुगमनपनि भागवण्डामा
जिल्ला विकास समिति सुर्खेतले गरेका विकास निर्माणका योजनाहरुको अनुगमन गर्न पनि भागवण्डा गरिएको छ । तीन वटा निर्वाचन क्षेत्र अनुसार तीन वटा टोली बनाएर अनुगमन गरिएको हो । क्षेत्र नं. १ मा नेपाली कांग्रेसहितका दलहरु, क्षेत्र नं. २ मा नेकपा एमालेसहित संघीय समाजवादी दलहरु तथा क्षेत्र नं. ३ मा नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेमकिपा र राप्रपा नेपाललगायतका दलहरु बाँडिएर अनुगमन गरिएको छ ।

 साभारः राराखबर अनलाइन