कर्णाली कोरिडोर २ वर्षमा सक्न निर्देशन


downloadसिमकोट: हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने कर्णाली कोरिडोरको आइतबार उद्घाटन गरिएको छ । हुम्लालाई २ वर्षमा सडक सञ्जालमा जोड्ने योजना सार्वजनिक भएको एक सातामै कोरिडोर उद्घाटन भएको हो ।
कर्णाली कोरिडोरको निर्माणमा भएको ढिलाइबारे स्थलगत अनुगमनका लागि गएको संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारीले कोरिडोरको प्रारम्भिक बिन्दु जितेगडामा आइतबार सडक उद्घाटन गरेका हुन् ।
कालीकोटको जितेगडादेखि हुम्ला सदरमुकाम सिमकोटसम्मको १ सय ९६ किलोमिटरको कोरिडोर दुई वर्षभित्र सम्पन्न गर्न विकास समितिले निर्देशन दिएको छ ।
अधिकारीले भने, ‘हरेक वर्ष सरकारले हुम्लालाई सडक सञ्जालमा जोड्ने प्रतिबद्धता व्यक्त गर्छ तर सडक पुगेको छैन । अबको २ वर्षमा सेनाले कुनै पनि हालतमा यो सडक निर्माण सम्पन्न गर्नुपर्छ ।’
आइतबार बिहान सेनाको हेलिकोप्टरबाट सुर्खेत हुँदै कर्णाली कोरिडोर स्थलगत भ्रमणमा आएको ९ सदस्यीय विकास समितिले कर्णालीको विकासका लागि सरकारले प्राथमिकताका साथ उठाउनुपर्ने निष्कर्ष निकालेको छ ।
टोलीमा संलग्न सांसद जीवनबहादुर शाहीले कर्णालीको विकासका लागि कर्णाली कोरिडोर विकासको पहिलो प्राथमिकता भएको बताए ।
विकासका लागि ९ वटा माग
कर्णाली कोरिडोरको अवस्था बुझ्न गएको विकास समितिसमक्ष हुम्लाका राजनीतिक दलले जिल्लाको विकासका लागि ९ बँदे माग राखेका छन् । राजनीतिक दलका तर्फबाट एमाले उपाध्यक्ष ज्ञामी बुमीले मागपत्र पेस गर्दै हुम्लालाई अबका २ वर्षमा सडक सञ्जालमा जोड्नुपर्ने, हुम्लाको हिल्सा सिमकोट मोटरबाटोको निर्माणकार्य मौसमका कारण हरेक वर्ष ठूलो रकम फ्रिज जाने भएका कारण हिल्सा सिमकोट कबाडीसम्म बिस्तार गर्नुपर्ने, २ मेगावाटको विद्युत् उत्पादन गर्न पहल गर्नुपर्ने माग गरे ।

साभारः अन्नपूर्ण पोष्ट