‘माथिल्लो तामाकोशीको निर्माण अवधि लम्बिने’


भूकम्प र त्यस लगत्तै भारतसँगको सीमा नाकामा उत्पन्न अवरोधका कारण इन्धन अभाव हुँदा रोकिएको माथिल्लो तामाकोशी आयोजनाको निर्माण अवधि लम्बिने भएको छ ।
स्वदेशी लगानीमा निर्माणाधीन उक्त आयोजनाको लागत पनि बढ्ने अधिकारीहरुको आंकलन छ।
गत वैशाखमा गएको भूकम्पले दोलखाको लामाबगर गाविसस्थित ४५६ मेगावाट क्षमताको माथिल्लो तामोकोशी आयोजना स्थलसम्म पुग्ने सडकमा पहिरो जानुका साथै अन्य संरचनामा समेत क्षति पुगेपछि रोकिएको काम अझै सुरु हुन सकेको छैन ।
अहिले भत्किएका संरचना र आयोजना स्थलसम्म पुग्ने सडकको मर्मत सम्भार भइरहेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताए।

लागत

उनले भने, “आयोजनाको प्रवेशमार्ग सिगटीदेखि भोर्लेको भीर, टोटलाबारीदेखि टुइनटार, सिस्नेरीदेखि गंगरसम्मको बाटो चौडा पार्ने काम भइरहेको छ।”
साथै गोंगरदेखि लामाबगरसम्मको सडकको ठाँउ-ठाँउमा गएको पहिरो पन्छाउने काम गर्ने क्रममा ठूलो पहिरोसम्म पुगिसकेको र त्यसअघि कसरी अघि बढ्ने भन्ने बारेमा छलफल भइरहेको न्यौपानेले बताए।
आयोजनाले विद्युत प्राविधकरणसँग गरेको विद्युत खरिद विक्री सम्झौता अनुसार २०७३ मंसिरसम्म निर्माण गरिसक्नुपर्ने बताइएको छ।
सुरुमा ३५ अर्ब २९ करोड रुपैयाँ लागतमा आयोजना निर्माण गर्ने लक्ष्य थियो।
तर यो वर्षभरि नै काम नभएपछि अब खर्च र निर्माण अवधि दुवै बढ्ने अनुमान गरिएको छ।
आयोजनाको निर्माण अवधि एक वर्ष धकेलिएर २०७४ मसिंर सम्ममा जाने र खर्च करिब ४१ अर्ब पुग्ने अनुमान डा. न्यौपानेको छ।

पुनर्निर्माण

गोंगरमा रहेको आयोजना ठेकेदार कम्पनी चिनियाँ सिनो हाइड्रोले आगामी तिन साताभित्र सम्पूर्ण संरचना पुनर्निर्माण गरी आयोजनाको निर्माण कार्यका लागि काम शुरु गर्ने जनाएको छ।
प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले आयोजनाका पदाधिकारीले समन्वय गरेमा समस्या समाधानका लागि पहल गर्ने बताए।
उनले भने, “तामाकोशी जलविद्युत आयोजना राष्ट्रिय गौरवको कार्यक्रम भएकोले अत्यन्त प्राथमिकतामा पर्छ, समस्या जिल्ला प्रशाशन कार्यालयमा ल्याउने बित्तिकै हामीले तेलको व्यवस्थापन गर्नेछौँ तर उनीहरु हामी कहाँ आएकै छैनन्।”
ठेकेदार कम्पनीले हालसम्म झण्डै ८० प्रतिशत काम सम्पन्न भएको जनाएको छ।
कम्पनीका अनुसार हाल हाइड्रोमेकानिकल गेट निर्माण र डिजाइन गर्ने लगायतका काम भइरहेको छ।
साभारः विविसी नेपाली