नर्सिङ विद्यार्थीद्वारा आत्महत्या प्रयास: विद्यार्थीहरु आन्दोलित


११ असार, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका शंकरनगरस्थित एड्भान्स स्टडी अफ साइन्सेज (नर्सिङ कलेज) प्रशासनले विद्यार्थीमाथि दुव्र्यबहार गर्नुका साथै पठनपाठन बन्द गर्ने घोषणा गरेपछि विद्यार्थीहरु आन्दोलित भएका छन् ।

कलेजमा अध्ययनरत विद्यार्थीलाई शुक्रबार साँझ ८ बजेदेखि शनिबार दिउँसो ५ बजेसम्म मोबाइल प्रयोग गर्न र शनिबार कलेज बाहिर (घर) जान पाउने नियमबाट विद्यार्थीहरुलाई बञ्चित गरिएको र यसबारे प्रश्न उठाउँदा दुर्व्यवहार भएको विद्यार्थीहरुको गुनासो छ ।

मोबाइल चलाउन र शनिबार घर जान नपाएपछि एक जना छात्राले छात्राबासको बाथरुमभित्रै हात काटेर आत्महत्या प्रयास गरेपछि कलेज प्रशासन र विद्यार्थीबीच विवाद चर्किएको छ ।

कलेज प्रशासनको मनोमानी र दुर्व्यवहारका कारण विद्यार्थीले आत्महत्या प्रयास गरेको भन्दै छात्राहरुले होस्टल वार्डेनको राजीनामा र नियमअनुसार विदाको दिन मोबाइल चलाउन र घर जान पाउनुपर्ने माग गर्दै आन्दोलित भएका थिए ।

त्यही बाहनामा कलेज प्रशासनले सोमबारदेखि कलेजको पठनपाठन र होस्टेल अनिश्चितकालाका लागि बन्द हुने सूचना टाँसेपछि विद्यार्थीहरु थप आक्रोशित भएका छन् ।

‘विद्यार्थीका माग र समस्या सम्बोधन गर्नुको साटो कलेज नै बन्द गर्नु प्रशासनको मनपरी र विद्यार्थीमाथिको गैरजिम्मेवारीपनको पराकाष्ठा हो’एक छात्राले नाम उल्लेख नगर्न आग्रह गर्दै अनलाइनखबरसंग भनिन् ‘होस्टेल वार्डेन,एकाउन्टेन्ट लगायत कर्मचारीको दुर्व्यवहारका कारण एकजना साथीको झण्डै ज्यान गएन, यस्तो हुँदा सुध्रिनुको साटो झन् मनपरी भएको छ ।’

कलेजका प्रबन्ध निर्देशक चेतन भण्डारीले विद्यार्थीका कतिपय माग जायज भएको र कलेज प्रशासनबाट गल्ती भएको स्वीकार गर्दै वार्ताबाट समस्याको समाधान गरिने बताए । उनले विद्यार्थीहरुलाई लिखित माग पेश गर्न आग्रह गरेका छन् ।

साभारः अनलाईन खबर ।