
२३ असार, काठमाडौं । स्वीडेनलाई २-० ले हराउँदै इंग्ल्याण्ड २८ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
इंग्ल्याण्डलाई अन्तिम ४ मा पुर्याउन खेलको ३० औं मिनेटमा हयारी मागुरे र ५९ औं मिनेटमा डेल अलीले गोल गरे ।
कर्नर बलमा मागुरेले हेडमार्फत सुन्दर गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफ १-० ले अग्रता लिएको इंग्ल्याण्डका लागि डेल अलीले गोल गर्दै अग्रता दोब्बर पारे । जेसस लिंगाडको क्रसमा उनले हेडमार्फत बललाई जाली चुमाए ।
इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले स्वीडेनको ३ वटा उत्कृष्ट प्रहार बचाएर टिमको जित सुनिश्चित गरे ।
इंग्ल्याण्ड यो सहित तेस्रो पटक विश्वकप फुटबलको सेमिफाइनलमा पुगेकाे हाे । यसअघि सन् १९६६ मा आफैले विश्वकप जित्दा र सन् १९९० मा सेमिफाइनलसम्म पुगेको थियो ।
सन् १९९० मा भने इंग्ल्याण्ड पश्चिम जर्मनीसँग सेमिफाइनलमै पराजित भयो । यसपटकको सेमिफाइनल यात्रा इंग्ल्याण्डको २८ वर्षपछि पहिलो पटक हो ।
इंग्ल्याण्डले फाइनल प्रवेशका लागि शनिबार राति हुने रसिया र क्रोएसियाबीचको खेलको विजेतासँग आउँदो बुधबार प्रतिस्पर्धा गर्नेछ ।
साभारः अनलाईन खबर ।



Milan Shrestha । २३ असार २०७५, शनिबार १०:४९ बजे