शिक्षक संगठनको ऐतिहाँसिक कदम, दुई सय शिक्षकलाई सूचना प्रविधिको तालीम


साउन १२, काठमाडौं ।

प्रायः आन्दोलन र नारावाजीमा देखिने शिक्षकहरु शुक्रवार फरक भुमिकामा देखिए । उनीहरुको हातमा न प्लेकार्ड थियो न त श्वरमा नारावाजी । उनीहरुको हातमा त ल्यापटप थियो । उनीहरुले सूचना प्रविधिमैत्री शिक्षण सिकाइका विधि सिक्दै थिए । कसरी इन्टरनेटबाट शैक्षिक सामग्री खोज्ने, शिक्षण सिकाइलाई कसरी प्रविधिमैत्री बनाउने भन्नेमा उनीहरु बडो चाख पूर्वक सिकाइ गर्दै थिए । सवैको नजर ल्यापटप र हातका औलाहरु किबोर्डमा थिए ।

यो दृश्य थियो, एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिले आयोजना गरेको सूचना प्रविधि तथा नेतृत्व विकास सम्बन्धी ५ दिने कार्याशालाको । कार्याशालाको अन्तिम दिन शुक्रवार उनीहरुको अनुहारमा तेज थियो । ७७ जिल्लाकै शिक्षकहरु जो शिक्षण सिकाइलाई कसरी प्रविधि मैत्री बनाउन सकिन्छ भनेर कार्यशालामा सहभागी भएका थिए । अन्तिम दिन उनीहरुको अनुहारमा एउटा बेग्लै किसिमको तेज थियो । आँखाहरु सन्तुष्ट देखिन्थे ।

श्री आधारभूत विद्यालय चम्पादेवि–४, सौरेनी ओखढुंगाकी शिक्षक सरस्वती कार्कीले पहिले कम्प्युटर, ल्यापटप देखि डराउने आफुलाई कार्यशालाले कम्प्युटर चलाउन मात्रै नभई इन्टरनेटको माध्यमबाट शैक्षिक सामग्री खोजेर सिकाउने हिम्मत दिएको बताइन् ।

कार्यशाला समापन कार्यक्रममा बोल्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले कार्यशाला पछि शिक्षकहरुको प्रविधि र कुशल नेतृत्वको विकास हुने अपेक्षा व्यक्त गरे । विद्यार्थीहरुले हिजो नभइ आज सिक्नुपर्ने भन्दै महानिर्देशक पौडेलले अब शिक्षकहरुले हिजोका नभइ आज र अहिलेका कुरा खोजेर सिकाउनुपर्नेमा जोड दिए । शिक्षकहरु सूचना प्रविधि मैत्री नभइ धरै छैन भन्दै यसको शुरुवात शिक्षक संगठनले गरेपनि अब सरकारले अघि बढाउने प्रतिवद्धा व्यक्त गरे ।

संगठनले देशभरका शिक्षकहरुलाई जम्मा गरेर सूचना प्रविधिको तालीम दिनु ऐतिहासिक र अनुकरणीय कदम भएको पौडेलको दावी थियो । अब एकीकृत अखिल नेपाल शिक्षक संगठनको यो अभियानलाई अन्य शिक्षक संगठनहरुले पनि सिको गर्नुपर्छ । पौडेलले भने–मुलुकलाई सूचना प्रविधिमैत्री शिक्षक र शिक्षण सिकाइ आवश्यक छ । एउटा राजनीकि क्रान्तिमा योगदान दिएका शिक्षकहरुले अब यस तालीम पछि एउटा शैक्षिक क्रान्तिको नेतृत्व गर्नुपर्ने उनको भनाइ थियो ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले आफ्नो संगठन वृहतरुपमा शिक्षकहरुलाई सूचना प्रविधिमैत्री तालीम सञ्चालन गर्ने पहिलो संगठन भएको भन्दै तालिम लिने शिक्षकहरु पनि पहिलो प्रशिक्षार्थी भएका दावी गरे । सूचना प्रविधि बुझ्ने ठूलो कुरा नभइ बदल्ने कुरा महत्वपूर्ण कुरा भएको भन्दै अध्यक्ष अधिकारीले अब विद्यालयहरुमा पुगेर सिकेको सीप अन्य शिक्षकहरुलाई पनि बाड्दै शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउनुपर्ने कुरामा जोड दिए ।

ठूलो संख्याका सूचना प्रविधि तालीमप्राप्त शिक्षकहरुले नै नेपालको शिक्षालाई सूचना र प्राविधिको धारमा अघि बढाउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो । यस तालीमले ट्रेडयुनियन आन्दोलनमा नयाँ युगको शुरुवात गरेको भन्दै अध्यक्ष अधिकारीले सिकेको सीप कक्षाकोठामा पुर्याउन शिक्षकहरुसँग आग्रह गरे ।