अशोक राजी
२८ जेठ सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफ्नो पार्टीको मुख्य इन्ट्रेष्ट नै राष्ट्रिय सहमति भएको दोहोर्याउनु भएको छ । ६ नं. प्रदेशको पार्टी एकता भेलाका लागि आज सुर्खेत आउनुभएका अध्यक्ष दाहालले प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीको अहिलेको इन्ट्रेष्ट सरकार गिराउने नभइ राष्ट्रिय सहमति बनाउने भएको जिकिर गर्नुभयो ।
संविधान कार्यान्वयन गर्न, मधेस तथा थारुहरुको समस्या समाधान गर्न, पुननिर्माण र विकास गर्न शीर्ष दलहरुवीच राष्ट्रिय सहमतिको आवश्यकता रहेको जनाउँदै उहाँले जुन दलले राष्ट्रिय सहमति जुटाउँछ, उसलार्इ सवैले सहयोग र साथ दिनुपर्नेमा जोड दिनुभयो ।
चाहे त्यो एमाले होस, या कांग्रेस या नेकपा माओवादी केन्द्र । राष्ट्रिय सहमति कसको नेतृत्वमा हुन्छ भन्ने संचारकर्मीहरुको जिज्ञासामा अध्यक्ष दाहालले पात्र वारे कुनै फरक नपर्ने टिप्पणी गर्नुभयो । अवको केही दिनभित्रमा मधेस समस्या पनि समाधान हुने दावी उहाँले गर्नुभएको छ ।
मधेसवादी दलका नेताहरु पनि अव कम्प्रोमाइजको अवस्थामा आएकोले मधेस समस्या समाधान गर्न धेरै समय नलाग्ने उहाँले बताउनुभयो । पहाड र हिमालको केही सिट घटाएर मधेसमा थप्ने, नागरिकता र सीमांकन सम्वन्धी कुरामा बसेर छलफल गरेमा समाधान गर्न सकिने उहाँको भनाइ छ ।
यद्यपि मधेसवादी दलहरुले संविधान पुर्नलेखन भने गर्न नसकिने उहाँले जनाउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, संविधान संशोधन गर्न सकिन्छ तर मधेसवादी दलहरुले भनेझै गरी संविधान पुर्नलेखन गर्न सकिदैंन पार्टी एकीकरण पछि कार्यकताहरुमा व्यापक असन्तुष्टिलार्इ उहाँले स्वभाविक मान्नुभएको छ ।
धेरै पार्टीलार्इ मिलाउँदा केहीमा असन्तुष्टिहरु आउनु स्वाभाविक भएको बताउँदै अध्यक्ष दाहालले पार्टी सुदृढिकरण गर्ने क्रममा यस्ता घटनाहरु आउने बताउनुभयो । पत्रकार सम्मेलनमा अध्यक्ष दाहालसहित उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेताहरु रामबहादुर थापा बादल, मातृका यादव, तिलक परियार, जयपुरी घर्तीलगायतको उपस्थिति थियो ।



Prawash Kumar Shakya । २८ जेष्ठ २०७३, शुक्रबार १०:२३ बजे