
२८ जेठ, काठमाडौं । नेकपा एमालेका नेता एवम् संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीले कर्णालीको विकास नहुनुमा स्थानीय समस्या भएको औंल्याएका छन् ।
सभापति अधिकारीले कर्णाली क्षेत्रको विकास नहुनुमा सरकार, स्थानीय तहका नेताहरु र गैरजिम्मेवार कर्मचारीतन्त्र तथा ठेकेदारी मुख्य जिम्मेवार रहेको दोष लगाए ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको अन्तर्क्रियामा उनले भने, ‘कर्णाली भौगोलिक दृष्टिले उपेक्षित त छँदै छ, तर यसको विकासको लागि सरकारको केन्द्रीय तहबाट समेत कुनै चासो देखाइएन्, यसमा सबै सरोकारवाला पक्षहरु जिम्मेवार बन्न जरुरी छ ।’
कार्यक्रममा सभापति अधिकारीले कर्णाली कोरिडोरको लागि विकास समितिले बजेटको अभाव हुन नदिने स्पष्ट पारे । अधिकारीले कालिकोटदेखि सिमिकोटसम्मको ५ मिटरको ट्र्याक तलको पीच बाटो भन्दा स्तरीय रहेको उल्लेख गर्दै नेपाली सेनालाई थप जिम्मेवारी दिने विषयमा समेत छलफल भैरहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसकी सांसद रीता शाही र एमालेका सांसद मोहन बानियाँले कर्णालीको विकासमा राज्यले यथेष्ट ध्यान नदिएको बताए ।
साभारः अनलाइन खबर
Prawash Kumar Shakya । २८ जेष्ठ २०७३, शुक्रबार १२:११ बजे