विद्यालय स्तरिय कोकाकोला कपमा सिद्धार्थको विजयी शुरुवात


download२८ जेठ सुर्खेत । वीरेन्द्रनगरमा संचालित कोकाकोला कप विद्यालयस्तरीय फूटबल प्रतियोगिताको दोश्रो दिन आज (शुक्रबार)  तीन वटा खेलहरु सम्पन्न भएका छन । विहान भएको पहिलो खेलमा सिद्धार्थ एकेडेमीले साविक विजेता सूर्यज्योति उच्च माविलार्इ पाखा लगाउँदै विजयी शुरुवात गरेको छ ।

निकै प्रतिष्पर्धात्मक खेलको निर्धारित र थप समय गोलरहित बराबरीमा टुंगिएपछि खेलको छिनोफानो पेनाल्टी शुटआउटबाट लगाइएको हो । टाइब्रेकरमा सिद्धार्थले ७ गोल गर्दा जम्मा ५ गोल फर्काएको साविक विजेता सूर्यज्योति प्रतियोगिताको आप्‍mनो पहिलो खेलबाटै बाहिरिएको हो ।

यसैगरी दिउँसो भएको दोश्रो खेलमा कोपिला भ्यालीले नेरा उच्च मावि माथि ३ शून्यको सहज नतिजा आत्मसाथ गरेको छ । खेल शुरु भएको दोश्रो मिनेटमै भक्त सिंजालीले गोल गरेपछि खेलमा दबाव बढाएको कोपिलाका लागि ५१औं मिनेटमा वीरेन्द्र सिंह र लगत्तै ५२औं मिनेटमा सागर सुनारले तेश्रो गोल थप्दै जीत निश्चित बनाए ।

यसैगरी आजै भएको तेश्रो खेलमा सुर्खेत एजुकेशन डेभलप्मेन्ट एकेडेमी सेडाले सुर्खेत होराइजन एकेडेमीमाथि १ शून्यको संघर्षपूर्ण नतिजा निकालेको छ । पहिलो हाफ गोलरहित बराबरी खेलेपनि दोश्रो हाफको ५४औं मिनेटमा सेडाका तर्फबाट गौरभ शर्माले गरेको एक मात्र गोल निर्णायक बन्दा सेडाले कठिन जीत हात पारेको हो ।

प्रतियोगिता अन्तर्गत भोलि शनिबार विहानको पहिलो खेलमा साउथ एशियन स्कालर्स एकेडेमी र बुलबुले एकेडेमी तथा, दिउँसो हुने खेलमा अमर ज्योति उच्चमावि र विद्याज्योति तथा उषा बालबाटिका र सुप्रिमबीच प्रतिष्पर्धा हुने भएको छ ।

छात्रतर्फको प्रतियोगितामा अहिलेसम्मकै सबैभन्दा बढि २४ टिमको सहभागिता रहेको आयोजक सुर्खेत जिल्ला फूटबल संघका महासचिव गणेशकुमार कार्कीले बताएका छन् ।