बेनी पाखापानी सडकको आँपरुखखण्डबाट आएको बाढीले निकास पाउन नसकेपछि बजारका घर डुबानमा परेका हुन्। क्याम्पसचोकमा आएको बाढीले शिक्षामार्ग, पीपलचोक, गणेशटोल, सङ्गमचोक र न्युरोडको हुलाकचोक बैंकचोकसम्मका घर प्रभावित भएका छन्।
मङ्गलाघाटको साइबाबा मन्दिर र तल्लो बजार क्षेत्रका घरमा पनि बाढी पसेको छ। खाद्यान्न, तरकारी, कपडा, सुनचाँदी, मोबाइल, हार्डवयर, मासु पसलका सामान बाढीले भिजेर नष्ट भएको क्याम्पसचोकका बासिन्दा गोविन्द बानियाँले बताए। बाढी नियन्त्रण र व्यवस्थापनमा प्रहरी, सेना र स्थानीयवासी खटेका थिए।
बाढीको त्रासका कारण बेनी बजारका बासिन्दा रातभर जाग्राम बसेका छन्। ‘सुत्ने तर्खर गरिरहेका बजारवासीहरु एक्कासि ठूलो बाढी आएपछि जाग्राम बसेर रात कटाए’ क्याम्पसचोकस्थित माछापुच्छ्रे बैंकका सुरक्षा गार्ड कविराम सुनारले भने।
घर अगाडिको सडकमा करिब डेढ मिटर माथिसम्म पानी बगिरहेको छ। राति करिब दुई घन्टा लगातार परेको भीषण वर्षासँगै आएको बाढीले पुर्याएको क्षति विवरण आइतबार बिहानदेखि सङ्कलन गरिने प्रहरी निरीक्षक लोकन्द्रसिङ गुरुले बताए।
बेनी पाखापानी सडक निर्माणका क्रममा माटो जथाभावी फाल्नुका साथै सडकको ढल व्यवस्थापनमा ध्यान नदिएकाले क्याम्पसचोक र मङ्गलाघाट बाढीको चपेटामा परेको स्थानीय बासिन्दा मुकुन छन्त्यालले बताए।
साभारः नागरिक अनलाइन



Prawash Kumar Shakya । ३० जेष्ठ २०७३, आईतवार ०२:५७ बजे