रारा भ्रमणमा गएको चापाकोटको मेयरको टोलीले कालीकोटमा रक्सी पिएर गर्‍यो झगडा, मेयरसहित केही घाइते


कार्तिक १८, स्याङजा — सरकारी खर्चमा ३० जना लिएर रारा भ्रमणमा गएको स्याङजाको चापाकोट नगरप्रमुख शिव गिरीको टोलीले कालीकोट जिल्लामा मदिरा सेवन गरी झगडा गर्दा मेयरसहित केही घाइते भएका छन् ।

बिहीबार रारा भ्रमणको लागि निस्किएको नगरपालिकाको टोली शनिबार बेलुका रारा ताल पुगेर फर्किएपछि कालीकोटको स्थानीय एक होटलमा झगडा हुँदा गिरीको टाउकोमा चोट लागेको छ । झगडामा घाइते भएका गिरीको टाउकोमा चोट लागेको कालीकोट प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए ।प्रजिअ कार्कीका अनुसार गिरीलाई जिल्ला अस्पताल कालीकोट राखिएको छ । उनको टाउकोमा ५ वटा टाँका लगाइएको छ । यस्तै गिरीका स्वीकय सचीव राजकुमार मल्ललाई पनि १६ वटा टाँका लगाइएको बताइएको छ । यसरी नै नगर प्रहरी इन्र्चाज शोभित थापालाई ४ वटा र चालक सुनिक एसकेलाई ५ वटा टाँका लगाइएको कार्यपालिकाका एक सदस्यले टेलिफोनमार्फत जानकारी दिए ।

प्रजिअ कार्कीका अनुसार भक्तपुर जिल्लाबाट रारा भ्रमण आएको टोली र चापाकोट नगरपालिकाको टोली एउटै होटलमा बास बसेका थिए । च्याङग्राको मासु पोलेर खाने बेला दुई टोलीबीच अपशव्द बोल्दै झगडा भएपछि कुटपिट भएको उनले बताए ।

उनका अनुसार दुवै पक्षले अत्याधिक मादक पदार्थ सेवन गरेका थिए । ‘राति दुई बजे भएको झगडामा घाइतेलाई हस्पिटल लगियो भने अन्यलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ,’ उनले भने, ‘गल्ती दुवै पक्षको छ । दुवै पक्षको सहमतिमा अगाडी बढ्छौं ।’ उनले दुवै पक्ष बाहिरी जिल्लाको भएकाले उनीहरुको सहमतीमा कारबाही गरिने बताए ।

स्याङजा कामु प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले रारा भ्रमण गएका चापाकोट नगरपालिकाको टोलीबीच भएको झगडाबारे यर्थाथ बुझ्न बाँकी रहेको बताए । उनका अनुसार कालीकोट प्रजिअमार्फत मादक पदार्थ सेवन गरेर रातभर झगडा गरेको सूचना आएको र यर्थाथ बुझ्ने काम भइरहेको छ । कान्तिपुरबाट