सुर्खेत चेम्वर अफ कर्मसको आयोजनामा कर्णाली महोत्सव २०७५ हुदै


माघ,१३ सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आउँदो फाल्गुनको पहिलो सातादेखि कर्णाली महोत्सव २०७५ सञ्चालन गरिने भएको छ । सुर्खेत चेम्वर अफ कर्मसको आयोजनामा आउँदो फाल्गुन ३ गते देखि ११ गते सम्म महोत्सव सञ्चालन गरिने आयोजकले जनाएको हो ।

महोत्सव सञ्चालनका विषयमा जानकारी दिन आईतवार वीरेन्द्रनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सुर्खेत चेम्बर अफ कर्मसका अध्यक्ष चिन्तामणी शर्माले कर्णाली सरकारले अभियानका रुपमा सञ्चालन गरेको कर्णाली रारा पर्यटनको गतिविधि लाई समेत प्रवद्र्धन गर्ने गरी महोत्सव सञ्चालन गरिने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “कर्णाली सरकारले शुरु गरेको कर्णाली रारा पर्यटन बर्षको गतिविधि पनि सुस्ताएको छ सरकारको सो अभियानलाई पनी प्रवर्धन र प्रचार प्रसार गर्ने गरि महोत्सव सञ्चालन हुन्छ ।”

महोत्सवमा यसै क्षेत्रका उत्पादित वस्तुहरुलाई प्राथामिकता दिने, कर्णालीको कला, संस्कृतिलाई विशेष जोड दिईने र यसपटक हुने महोत्सवमा जिल्ला बाहिरका नभई यसै क्षेत्रका व्यापारीलाई प्राथामिकता दिईने शर्माले बताउँदै महोत्सवमा सुर्खेतकै स्थानिय व्यापारीहरु स्टलका लागी पहिलो प्राथामिकता रहने जानकारी दिनुभयो ।

यसपटकको महोत्सव बाट बचेको रकमले वीरेन्द्रनगरमा सुविधासम्पन्न सार्वजनिक शौचालय निर्माण गरिने अध्यक्ष शर्माको भनाई छ । वीरेन्द्रनगर नगरपालिकाले तोकेको स्थानमा तत्कालै शौचालय निर्माणको कार्य शुरु गरिने समेत शर्माले बताउनुभयो ।

नगरपालिकाले यसपटक मेला महोत्सव सम्बन्धि कार्यविधि तयार पारिसकेको छ विगत जस्तो नभएर अबदेखि वीरेन्द्रनगर नगरपालिकाले तोकेको मापदण्ड र बनाएको कार्यविधि बमोजिम नै मेला महोत्सव सञ्चालन गर्नुपर्ने भएकाले स्थानिय सरकारले बनाएको निति नियममै टेकेर महोत्सव सञ्चालन गर्ने अध्यक्ष शर्माको भनाई थियो ।

मेला अवधिभर २ लाख दर्शकले अवलोकन गर्ने र १० करोड बराबरको कारोवार हुने अनुमान आयोजकको छ ।
जिल्ला समन्वय समितिको खुल्ला मञ्चमा यस अघिका महोत्सव सञ्चालन भएतापनी यसपटकको महोत्सव वीरेन्द्रनगर नगरपालिका स्थित दक्षिण तर्फको खुल्लाचौरमा सञ्चालन हुने आयोजकले जनाएको छ ।