दिपक बुढा
३ माघ, सुर्खेत । अघि पछि घरेलु मदिरा पोख्दा पत्रकार सम्मेलन गर्ने जिल्ला प्रहरी कार्यालय सुर्खेत ३ किलो सुन चोर पक्रँदा पत्रकार सम्मेलन गर्न आवश्यक ठानेको छैन ।
भारतबाट चोरी गरेर ल्याएको ३ दसमलब ८७ केजी सुनसहित एक दम्पतिलाई सुर्खेत प्रहरीले पुस २४ गते पक्राउ गरेको थियो । पुस ११ गते भारतको बंगलोरबाट चोरी गरेर ल्याएको सुन र हिरासहित ४७ वर्षका मंगल शाही र उहाँका श्रीमती शौभाग्य शाहीलाई प्रहरीले पक्राउ गरेको थियो ।
कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका ९ गडेगाउँ स्थायी ठेगाना भएका मंगललाई कालिकोटबाट र शौभाग्यलाई वीरेन्द्रनगरबाट पक्राउ गरिएको हो । तर जिल्ला प्रहरी कार्यालयले मंगल शाहीलाई कालिकोटबाट नै पक्राउ गरेको थियो । सौभाग्य वीरेन्द्रनगरमा पक्राउ परेसंगै नेपाली र भारतीय प्रहरीको टोली कालिकोट गइ सुनका गहनाहरु नियन्त्रणमा लिएको थियो ।
चोरी आरोपमा प्रहरी हिरासतमा रहेका मंगलको घरबाट ल्याएको सबै सुन प्रहरीले ल्याएको दाबी गर्छन । ‘बैंग्लोरबाट ल्याएको तीन किलो सुन प्रहरीले मेरो घरबाट बरामद गरेर ल्याएको हो ।’ मंगलले भने । आफन्तले भने, ‘तर यहाँ प्रहरीले आधा सुन मात्रै फेला परेको बताएको छ । कालिकोटबाट ल्याइएको सुन बाटैमा प्रहरीले गायब गरेको छ ।’
यता, जिल्ला प्रहरी कार्यालय सुर्खेतको भूमिका पनि शंकास्पद नै देखिएको छ । ‘मदिरा पोख्दा ठूलो पत्रकार सम्मेलन गर्ने प्रहरीले पत्रकार सम्मेलन गरेर सुन सार्वजनिक नगर्नु शंकास्पद नै छ ।’ नाम उल्लेख नगर्ने शर्तमा स्रोतले भन्यो, ‘प्रहरीले सुनबारेमा पत्रकार सम्मेलन नगर्नुको कारण प्रहरीले सुन लुकाएको पनि हुनसक्छ ।’ त्यो संगै प्रहरीले विदेशी मुद्रा २५ हजार अमेरीकी डलर समेत बरामद गरेको दावी उहाँको आफन्तको छ । तर त्यो विदेशी मुद्रा प्रहरीले सार्वजनिक गरेको छैन ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा अहिले पक्राउ परेकाहरुलाई राखिएको छन् । जिल्ला प्रहरी कार्यालयका डि एसपी प्रदीप क्षेत्रीकै नेतृत्वमा शाहिलाई पटक पटक यातना दिएर सुन सबै प्रहरीले नलिएको बारेमा झुट बोल्न लगाउने गरेको समेत उनका आफन्तहरुले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालयले किन सुन प्रकरणबारे पत्रकार सम्मेलन गरेन भन्ने प्रश्नमा प्रदेश प्रहरीले गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय सुर्खेतका नि. प्रमुख एवम डिएसपी प्रदिपबहादुर बुढा क्षेत्रीले बताउनुभयो । उहाँले हालसम्म ६ सय ५० ग्राममात्र बरामद भएको बताउनुहुन्छ । तर प्रदेश प्रहरीको नाम लगेतापनि जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी क्षेत्रीको प्रहरी टोली कालिकोट पुगेको स्थानीयका भनाई छ ।
यता, प्रदेश प्रहरीका डिआइजी महेशविक्रम शाहले कानूनले मानविय संवेदनाका कारण पक्राउ गरेको बताउनुभयो । यस्तो मुद्दाहरु बारम्बार आइरहेको उहाँको भनाई छ । यस्ता घटनाले देशको प्रतिष्ठामा आँच पुर्याउने र त्यहाँ काम गरेकाहरुलाई जागिर निकाल्ने क्रम बढने गरेकाले पनि हामीले मानवीय संवेदनालाई आधार मानेर उनीहरुलाई पक्राउ गरेका हौं । शाहले यदि प्रहरीको संगलनता देखिए कारबाही गर्ने संकेत गर्नुभयो । सबै प्रहरीको संयुक्त दायित्व यस्ता कुरामा रहने डिआइजी शाहको भनाई छ ।



Milan Shrestha । ४ माघ २०७५, शुक्रबार १७:१८ बजे