
४ माघ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले रासायनिक विषादी संसारकै डरलाग्दो बम भएको बताउनुभएको छ ।
साना किसान विकास लघुवित्त संस्था लि. ईलाका कार्यालय वीरेन्द्रनगर सुर्खेतको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले आजको बजार रासायनिक विषादीयुक्त खाद्यान्नले ओगटेको औंल्याउनुभयो ।
“रासायिनक विषादी मानव स्वास्थ्य समाप्त पार्ने बम हो,” मुख्यमन्त्री शाहीले भन्नुभयो , “यस्ता विषादी मिश्रित खाद्यान्न आयात प्रतिस्थापन गर्न यहाँको कृषि उत्पाकत्वमा जोड दिनुपर्दछ ।” कृषिका साथै कर्णाली प्रदेश सरकार समग्र विकासको योजना निर्माणमा लागेको बताउँदै मुख्यमन्त्री शाहीले भन्नुभयो , कृषिका माध्यमबाट कर्णालीको गरिबीलाई अन्त्य गर्न सकिन्छ । कृषि क्षेत्रमा आकर्षणमा बढाउन कर्णालीमा श्रम गर्नेलाई सम्मान गर्ने योजना छ ।

यता प्रदेश सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले सहकारीका माध्यमबाट कर्णालीको समृद्धि कायम हुने बताउनुभयो । “अब कर्णाली मागेर खाने होइन, अरुलाई दिने प्रदेश बनाउन चाहान्छौं,” मन्त्री केसीले भन्नुभयो, “यसका लागि समाजमा उद्यमशीलता र गरिब किसानहरुको हातमा कार्यक्रम जानुपर्दछ ।” किसान धेरै हुने तर उत्पादन कम हुने वा उत्पादन धेरै हुने तथापि बजार कम हुने जस्ता समस्या समाधान तर्फ प्रदेश सरकार लाग्ने उहाँको भनाई थियो ।



Milan Shrestha । ४ माघ २०७५, शुक्रबार १७:५८ बजे