किताब जुट्दै



माघ २९, जुम्ला ।

कर्णाली प्रदेश प्रहरीले प्रदेश अन्तरगतका सबै जिल्लाका कारागारमा किताब अभियान थाले सँगै जुम्ला कारागारमा ब्यवस्थित पुस्तकालय निर्माणको काम अन्तिम चरणमा पुगेको छ । जिल्ला कारागारका कैदी बन्दीहरुका लागि अध्ययन गर्न पुस्तक संकलन अभियान अन्तिम चरणमा पुगेको डिएसपी सिताराम रिजालले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाले गत पुष २५ गते देखि कारागारमा किताब अभियान थालेको थियो । हाल सम्म ‘पाँच सय पुस्तकहरु’ संकलन भइसकेको डिएसपी रिजालले जानकारी दिनुभयो । कारागारमा पुस्तक संकलन अभियान अन्तरगत सहयोगी व्यक्तिहरुले कसैले आफुसँग भएका त, कसैले नयाँ पुस्तक किनेर उपलब्ध गराएका छन्, डिएसपी रिजालले भन्नुभयो,‘ कैदीबन्दीले माग गरेका किताब सिधै लेखक सँग समन्वय गरेर जुम्ला ल्याई पुर्याउन सफल भएका छौँ ।’ लेखक देखि पत्रकार र कलाकार सम्मले यो अभियानलाई निकै राम्रो सँग नियालीरहेका छन् ।

कैदीबन्दीहरुलाई अध्ययनशिल बनाउने र किताब पढेर जीवन रुपान्तरणको चरणमा बिकास गर्नको लागि अहिले सफलताका कथा र पत्यक्ष जीवन ब्यवहारमा लागु हुने खालका किताब जुटाउनमै ध्यान केन्द्रित भएको छ । कारागारलाई किताब उपसमिती बनाएर किताब संकलन भइरहेको छ । संकलित किताब शिक्षा दिवसको अवसरमा आउँदो फागुन १२ गते जुम्ला कारागारमा पुस्तकालय स्थापना हुने भएको छ । पुस्तकालय स्थापना गर्नका लागि आवश्यक एक हजार बढि पुस्तक अटाउने ¥याग तथा फर्निचरहरु निर्माणका गरिएका छन् ।
संकलन गरिएका पुस्तकहरु हाल सालै मदन पुरस्कार बिजेता निलम कार्कीको योगमाया, नोवेल पुरस्कार बिजेता पलएस बकको द गुड अर्थको नेपाली संस्करण कल्याणी धर्ती, माहात्मा गान्धीको आत्मकथादेखी स्थानीय तथा राष्ट्रिय लेखक तथा साहित्यकारहरुका पुस्तकहरु संकलन गरिएका छन् । पुस्तकालय स्थापना गर्न बिराटनगराका डिल्लीराज गिरीले ४० हजार रुपैयाको पुस्तक, एक्पोर्ट कस्नर्सनका खेम संग्रौलाले ४० हजार र जुम्लाका तोरणसिंह कठायतले २ हजारका पुस्तक उपलब्ध गराएका छन् । यसैगरी पत्रकार, नागरिक समाज र विभिन्न व्यक्तिहरुले किताब उपलब्ध गराउने क्रम जारी छ ।

उत्पादनशिल, अध्ययन तथा ज्ञानवर्दक शिक्षाका लागि कर्णाली प्रदेश प्रहरीले संचालन गरेको यो अभियानलाई सबैले पृथक र अति आवश्यक रहेको प्रतिक्रिया दिएका छन् । नागरिक समाजका अध्यक्ष राजबहादुर महतले कार्यक्रम निकै राम्रो भएको प्रतिक्रिया दिनुभयो । यस कार्यक्रमले गर्दा कारागारका मानिसहरु पनि अध्ययनशिल हुने उहाँको बुझाई छ । ‘समुदाय प्रहरी साझेदारी कार्यक्रम कारागारका बन्दिहरुको अर्को संसार र किताब पढौ जीवनलाई बदलौ, कर्णाली प्रदेशका कारागारलाई किताब अभियान’ भन्ने मुल नाराका साथ यो अभियान कर्णाली प्रदेशभरी शुरु भइ तिब्र गतिमा छ ।