
३ चैत्र, कालीकोट । अस्पताल सम्म पुर्याउन नसक्दा कालीकोटमा एक सुत्केरीको ज्यान गएको छ । जिल्लाको नरहरीनाथ गाउँपालिका ७ कि २० बर्षिया मीना शाहीलाई अस्पताल सम्म नपुर्याइ घरमै सुत्केरी गराउने असफल प्रयास गरेपछि अत्याधिक रक्तश्राबका कारण उहाँको ज्यान गएको हो ।
शाही सुत्केरी भएको पाँचौ दिन सम्म अत्याधिक रक्तश्राब भई अवस्था गभ्मीर भएपछि मात्रै अस्पताल सम्म पुर्याइएकोले उहाँको उपचार हुन नसक्दा निधन भएको हो ।
सुत्केरी हुनु अघि नजिकैको स्वास्थ्य चौकीमा गर्भ जाँच गर्न जाँदा अनमीले मीनालाई पेटमा बच्चाको अवस्था राम्रो नभएको भन्दै सुत्केरी गराउन जिल्ला अस्पताल जान अनुरोध गरेपनि मीनाले अनुरोधको अटेरी गरि घरमै मृत अबस्थामा बच्चा जन्माउनु भएको थियो ।
मिनाको दोश्रो बच्चा मृत अबस्थामा जन्मियो, साल भने निस्किएन, पाँच दिन सम्म निरन्तर रगत बगेपछि बेहोस हुनुभएकी मिनालाई जिल्ला अस्पतालमा पुर्याइए पनि उहाँको त्यहाँ उपचार हुन सकेन । मिनाको अबस्था गम्भिर भएकाले कर्णाली प्रदेश अस्पतालमा उहाँलाई रिफर गरिएको जिल्ला अस्पताल कालीकोटका प्रमूख डा. भिष्म पोखरेलको भनाई छ ।
कर्णाली प्रदेश अस्पतालमा ल्याउँदै गर्दा शुक्रबार राती तीन बजे दैलेख जिल्लाको गुराँसेमा मिनाको ज्यान गएको हो ।



Milan Shrestha । ३ चैत्र २०७५, आईतवार १२:३९ बजे