केपीएल २ मा कर्णाली ११ सेमीफाईनलमा


१६ बैशाख, सुर्खेत । आयोजक कर्णाली ११ समूह विजेता बन्दै सुर्खेतको वीरेन्द्रनगरमा जारी कर्णाली प्रिमियर लिग केपीएलको सेमीफाईनलमा प्रवेश गरेको छ ।

समूह ए को आफ्नो अन्तिम खेलमा कर्णालीले उपाधि दाबेदार मानिएको विभागिय टोली आर्मीलाई ११ रनले हराउँदै समूह बिजेता बन्दै अन्तिम चारमा ठाउँ पक्का गरेको हो । १५७ रनको लक्ष्य पाएको आर्मीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४५ रन मात्र बनाउन सक्यो दिएको छ ।

राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको आर्मीकालागि कप्तान बिनोद भन्डारीले ४२ बलमा एक छक्का र ९ चौंका सहित ५५ रनको अर्धशतिक पारी खेल्नु भयो भने हरि बहादुर चौहानले ३८ रन जोड्नु भयो ।

कर्णालीका कप्तान रबिन्द्रजंग शाही र कृष्ण कार्कीले समान तीन तीन विकेट लिनुभयो । टस जितेर ब्याटीङ गरेको घरेलु टोलीले लोकेश बमको ३० बलमा दुई छक्का र ६ चौंका सहित ५० रनको अर्धशतकिय पारीसंगै सात विकेट गुमाएर १५६ रन बनाएको हो । कर्णाली ११ का प्रदिप रसाईलीले ३४ जितेन्द्र सिंह ठकुरीले ३० रन बनाउँदा कप्तान रबिन्द्र शाहीले २३ रन जोड्नुभयो ।

विभागिय टोली आर्मीकालागि सुसन भारीले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा मात्र १६रन दिएर पाँच विकेट हात पार्नुभयो । लगातार तीन जित हात पारेको कर्णाली ११ ले पहिलो खेलमा लालीगुराँस क्रिकेट एकेडमी र दोस्रो खेलमा मध्यपश्चिम क्रिकेट कल्ब बाँकेलाई हराएको हो ।

यो समूहबाट आर्मी र मध्यपश्चिम क्रिकेट क्बल बिचको बिजेता उपविजेताका रुपमा सेमीफाईनल पुग्नेछ । यस्तै महेन्द्रनगर क्रिकेट एकेडमीले पहिलो जित दर्ता गरेको छ भने हिमालय एकेडमीले लगातार दोस्रो हार भोगेको छ ।

पहिलो खेल गुमाएको महेन्द्रनगरले आज हिमालय एकेडमीलाई पाँच रनले हराउँदै अंक तालिकामा खाता खोलेको हो । १५२ रनको पाएको हिमालय एकेडमीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४८ रन मात्र बनाउन सक्यो । हिमालयका ५० रनको अर्धशतकिय पारी र दिपेन्द्र ऐरीले २९ रन बनाएपनि टोलीको हार टार्न सक्नुभएन ।

महेन्द्रनगरका बिक्रम ठगुन्ना र आकाश चन्द्रले समान २/२ विकेट हात पार्नु भयो । टस जितेर पहिला ब्याटिङ गरेको महेन्द्रनगरले निर्धारित २० ‍ओभरमा पाँच विकेट गुमाएर १५१ रन बनाएको हो । महेन्द्रनगरकालागि किरण ठगुन्नाले ४१ र दिनेश आग्रीले ३३ रनको योगदान दिनुभयो भने हिमालयनका शरद खड्काले २ विकेट हात पार्नुभयो ।