आफ्नो जन्मसँगै हरेक पुस्ताका नेपाली तन्नेरीहरुलाई पप संगीतको स्वाद बाँड्दै आएको नेपथ्य अब स्वयं पनि वयस्क भएको छ । पोखराबाट काठमाडौं आइ संघर्ष गरिरहेका तन्नेरीहरुको जमातले नेपाली संगीतमा केही योगदान दिने जमर्को गरेको क्षण अब आएर २५ वर्ष पुगेको छ । अर्थात्, अबको एक वर्ष संगीतप्रेमीहरुका निम्ति ‘नेपथ्यको रजत वर्ष’ हुनेछ ।
यसलाई त्यही हिसाबले उत्सवका रुपमा मनाउन‘सेलिब्रेटिङ ट्वेन्टि फाइभ इयर्स अफ नेपथ्य’ भन्ने ‘थिम’ बोकेर ब्यान्ड उपस्थित भएको छ । यो वर्षभरि नेपथ्यले गर्ने सबै कामहरुलाई यसै घोषित थिम अन्तर्गत राखेर सम्पन्न गरिनेछ ।
नेपथ्यको जन्म मिति कुन दिनलाई मान्ने भन्ने विषयमा विभिन्न तर्कहरु आएका छन् । रजतवर्ष घोषणा गर्नुअघि ब्याण्डले कुन क्षणलाई यात्रा प्रारम्भ मान्ने भनेर ब्यापक छलफल पनि गरेको थियो। पुल्चोकमा भाडा लिएर बसेका दिपक राणा र अमृत गुरुङको कोठामा भेला हुने जमात नै आजको अग्रणी नेपाली ब्याण्ड बनेको यथार्थमाझ ब्याण्ड स्थापनादेखि गीत रेकर्डसम्मका थुप्रै घटनाहरु मध्ये कुनै एउटा क्षणलाई केन्द्रित गर्नु पक्कै पनि अप्ठेरो थियो ।
यस्तो अवस्थामा अन्ततः ब्याण्डले आफ्नो पहिलो एल्बम‘नेपथ्य’ रिलिज भएको दिनलाई नै आधिकारिक जन्म मिति मान्ने निधो गरेको छ । त्यो एल्बम ननिस्केको भए टोली गठन हुनु वागीत बन्नुले कुनै अर्थ राख्दैन थियो भन्ने मान्यतामा यस्तो निर्णय लिइएको हो । त्यसैले पहिलो एल्बम निस्केकै दिन अर्थात् सन् १९९३ को अप्रिल एक तारिखका दिननै नेपथ्य संस्थागत भएको मान्यता ब्याण्डमा स्थापित हुन पुगेको छ । त्यसैगरि उक्त एल्बमको पहिलो गीत ‘आँगनैभरि हिउँ नै झरे’लाई ब्याण्डको पहिलो गीतको मान्यता दिइएको छ ।
यसरी सन् २०१८ अप्रिलको पहिलो दिन नेपथ्य २५औं वर्ष पुरा हुने भएतापनि यसै वर्षको अप्रिल एक तारिखदेखि रजतवर्ष प्रवेशको उत्सव मनाउन सुरुगर्ने निधो ब्याण्डले गरेको हो । यो सिंगो एक वर्ष नेपथ्य प्रेमीहरुका निम्ति ‘सिल्भर जुबली’को माहोल हुनेछ ।
यो वर्षभरि नेपथ्यले घोषित थिममा हरेक महिनाकुनै न कुनै कार्यक्रम गर्नेछ । नयाँगी मात्रनभइ ब्यान्डका नयाँ–पुराना गीतका म्यूजिक भिडियो यसै अवसरमा हरेक महिना सार्वजनिक हुनेछन् ।
आफ्नो रजतवर्षका अवसर पारेर नेपथ्यले नेपाली संगीतका क्षेत्रमा योगदानदिने हस्तीहरुप्रति पनि आफूलाई समर्पित गर्ने निधो गरेको छ । उहाँहरुको योगदान बिना नेपाली संगीत आजको अवस्था सम्मपक्कै आइपुग्दैन थियो । आधुनिक संगीतको विधामा यसरी योगदान दिनेहरुप्रति सम्मान स्वरुप नेपथ्यले नेपालयलाई पलेँटी श्रृंखलापुनःब्यूताउन सहयोग गर्ने जमर्को गरेको छ । नेपाली संगीतको स्वर्णिम कालको उपासना र जागरण अभियान पलेँटीले चलाउँदै आएकोमा केहि वर्षयता बन्द अवस्थामा छ ।
‘सामाजिक क्षेत्रमा पनि हामीले विभिन्न सहयोग तथाकार्यहरु मार्फत् सहभागीता जनाउँदै आएका छौं,’ नेपथ्यका संस्थापकएवं मुख्यगायक अमृत गुरुङ भन्छन्, ‘यो महत्वपूर्ण वर्षचाहिँ हामीले नेपाली संगीतकै श्रीवृद्धिमा संलग्न हुने अठोटका साथ यो वर्षभरि पलेटी श्रृंखलामा जोडिने भएका छौं । हाम्रो ब्याण्डका साथीहरु पलेँटीको प्रारम्भिक दिनहरुमा संलग्नभएकै हुन्। अब चाहिहामी त्यो श्रृंखलालाई निरन्तरता प्रदानगर्न पनि सहयोगी हुने निधोमापुगेका छौं।’
यसैबीच नेपथ्यले आफ्नो रजत महोत्सव मनाउने निधो गरेकै बेला संयोगले उत्सवको सुरुवातै नेपथ्यको थलो पोखरामा पहिलो कन्सर्टबाट हुन थालेको छ । यसै चैत २६गते (अप्रिल ८ तारिख) का दिन पोखरास्थित रंगशालामा नेपथ्य प्रस्तुत हुँदैछ ।
‘नेपथ्य जुन भूमिबाट आएको हो त्यसै भूमिमाउसको यस्तो महत्वपूर्ण आयोजना जुरेको छ,’ गायक अमृत भन्छन्, ‘यो सुखद् संयोग हो ।’
“तीनजना साथीहरु बाट सुरु भएको यो समुह, थप २० भन्दा बढि संगीतकर्मी साथीहरुको योगदान बाट यहाँ सम्म आईपुगेको हो । नेपथ्यलाई योगदान पुर्याउने सबैजना धन्यबादकापात्र हुनुहुन्छ,”गायक अमृत थप्छन् ।
रजतवर्षकै अवसरमा नेपथ्यको २५ वर्ष लामो यात्राकाकथाब्यथा समेटेको चिनारी पुस्तकपनिप्रकाशितगर्ने योजना ब्याण्डलाई व्यवस्थापनगर्दैआएको नेपालयले राखेको छ।
‘नेपथ्यको जीवनी अमृत गुरुङले लेखिरहेका छन्,’ नेपालयका किरणकृष्ण श्रेष्ठले उजागर गर्दै भने, ‘केहि समयदेखि यसमै कामगर्दैआएका अमृतको पुस्तकलाई यसै वर्ष सार्वजनिकगर्ने योजनापनिहामीले राखेका छौं।’
श्रेष्ठका अनुसार रजत वर्षको अवसर पारेर नेपथ्य आजसम्म नपुगेका स्वदेस तथा विदेसका स्थानहरुमा ब्यान्डलाई प्रस्तुतगर्न पनि यसपाला नेपालयले प्राथमिकता दिनेछ ।
‘नेपथ्यको दसौं एल्बम लगभग तयारी अवस्थामा छ,’ नेपालयका श्रेष्ठ भन्छन्, ‘केही गीतहरु सार्वजनिक भइसकेको यो एल्बम पनि यसै वर्ष आउनेछ ।’
साभारः बाह्रखरीअनलाइन



Prawash Kumar Shakya । १७ चैत्र २०७३, बिहीबार १६:०१ बजे