गर्भमा बच्चाको मृत्यु, पैसा अभावमा आमाको ज्यान झण्डै गएको


बाजुरा, १९ असार । बाजुराको साप्पटा– ८ की ३२ वर्षीय मीठू नेपाली गत २९ जेठमा घर नजिकै जंगलमा दाउरा बोक्न गइन् । पेटमा नौ महिनाको गर्भ थियो, जंगलमै उनी लडिन् ।

परिवारका सदस्यले जसोतसो गरी बोकेर घर ल्याए । घरमा उनी निरन्तर बिरामी परेपछि सुत्केरी व्यथा ठानियो । बिरामी परेको दुई दिनपछि अर्थात ३१ जेठमा एक दिनको दूरीमा रहेको साप्पटा स्वास्थ्य चौकी पुर्‍याइयो ।

स्वास्थ्यकर्मीले सुत्केरी व्यथा लागेको तर लडेका कारण बच्चालाई असर परेको हुन सक्ने बताए । राजधानी दैनिकले समाचार छापेको छ ।

आर्थिक अवस्था दयनीय भएका कारण जिल्ला अस्पतालसम्म पुर्‍याएर सुत्केरी गराउने क्षमता उनका श्रीमान् पासवान नेपालीसँग भएन । त्यसपछि दुईै दिन मीठू घरमै व्यथा सहेर बस्न बाध्य भइन् ।

बेथाले च्याप्दै लगेपछि एक सातापछि मीठूलाई गाविस नजिकै सञ्चालित स्वास्थ्य शिबिरमा लगियो । त्यहाँ किचकित्सकले अल्ट्रासाउन्ड गरेपछि बच्चा पेटमै मरेको थाहा भयो ।

डाक्टरहरुले बच्च मरिसकेको र आमाको समेत ज्यान जोखिममा रहेको औंल्याउँदै तत्काल उपचारका लागि सदरमुकाम मार्तडी लैजान सुझाव दिए ।

उनले जसोतसो ऋण गरेर २० हजार जम्मा गरे र जिल्ला अस्पताल लगे । त्यहाँ स्त्रीरोग विशेषज्ञ डा राजन न्यौपानेले शल्यक्रिया गरेर बच्चा निकाले ‍।
जब बच्च निकालियो, तब पासवानले आँखै अगाडि देखे मरेको बच्चा । मीठूको पेटमा नै महिनासम्म सकुशल हुर्किएको छोरीको २१ दिन अघि नै पेटमै मृत्यु भइसकेको रहेछ । लड्नासाथ तत्काल उपचार गर्न सकिएको भए बच्चा बाँच्न सक्ने डाक्टरहरुले बताए ।

साभारः दैनिकिनेपाल अनलाइन