काठमाण्डौंको नागार्जुनमा रक्तदाता समाजको नगर समिति गठन


२० गते, काठमाडौं । “रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस्” भन्ने उच्च उद्देश्यसहित नेपाल स्वयंसेवी रक्तदाता समाजले देशभर रक्तदातालाई संगठित गर्ने अभियानमा काठमाडौंको नागार्जुनमा समाजको नगरसमिति गठन गरिएको छ।

नागार्जुनमा आयोजित एकभेलाले नवगठित समितिको अध्यक्षमा ईश्वर बलामी सर्वसम्मत चयन हुनु भएको छ । त्यस्तै दौलत बिष्ट उपाध्यक्ष, राधेश्याम बलामी सचिव, सिजन श्रेष्ठ कोषाध्यक्ष र मनाेज मानन्धर, माधव मानन्धर, घनश्याम गौतम, प्रकाश बलामी र दिलिप भट्टराई सदस्यमा चयन हुनुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा समाजका केन्द्रीय अध्यक्ष एवं नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले, रक्तदान अभियानलाई स्थानीय तहसम्म विस्तार नगरी रक्त व्यवस्थापनमा गुणात्मक सुधार सम्भव नहुने बताउनु भयो। उहाँले भन्नुभयो, “जबसम्म समुदायस्तरमै रक्तदानप्रति जनचेतना अभिवृद्धि हुँदैन, तबसम्म आवश्यकताअनुसार दाताको संख्या वृद्धि गर्न सकिँदैन । त्यसैले समाजले स्थानीय तहमा रगत दान र त्यसबाट तयार हुने विभिन्न रक्त–तत्वहरूको महत्वबारे निरन्तर जानकारी दिंदै आएको छ ।”

नेपाल स्वयंसेवी रक्तदाता समाजले हाल देशभर रक्तदाताको पहुँच विस्तार गर्दै, आवश्यकता परेको बेलामा कुनै पनि बिरामीले रगत अभावका कारण जीवन गुमाउन नपरोस् भन्ने ध्येयसहित संगठन विस्तार र जनचेतना अभिवृद्धिमा जोड दिएको छ।