बालविवाह निरुत्साहित गर्न चुनौती सुर्खेतमा मागी विवाहभन्दा भागी विवाह धेरै


राजेन्द्र शाही
सुर्खेत, १८ फागुन ।
सुर्खेतमा बालविवाह गर्नेहरुमा मागी भन्दा भागी बिवाह गर्नेहरुको संख्या बढ्दै गएको पाइएको छ ।

  जिल्लामा सरकारी तथा गैरसरकारी संस्थाहरुद्वारा संचालित चेतनामुलक कार्यक्रमको प्रभावले अभिभावकहरुमा परिवर्तन आएपनि भागी बिवाह गर्ने बालबालिकाहरु भने बढ्दै गएको बालबालिकाका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघ सस्थाका अधिकारीहरुले बताएका छन्

महिला तथा बालबालिका कार्यालय सुर्खेतका प्रमुख महिला विकास अधिकृत जमुना पौडेलले मुलुकको कानुनले बालविवाहलार्इ पूर्ण निषेध गरेको भएपनि बालविवाह अझै चुनौतीको रुपमा रहेको बताइन्। उनले भनिन्‍, ‘बालबिवाह न्यूनीकरणका लागि समुदायस्तरमा भए गरेका प्रयासहरुको अब समिक्षा गर्न आवश्यक छबालविवाह निरुत्साहित गर्न थुप्रै निकाय सक्रिय हुँदा पनि कार्यक्रमहरुको प्रभावकारीता अपेक्षाकृत हुन सकेन ।पछिल्लो समय अभिभावकहरुमा बालबालिकाको बिवाह उम्मेर नपुगि गर्नु हुँदैन भन्ने चेतनाको स्तर बढेको भएपनि बालबालिकाले आफै भागेर बिवाह गरिदिँदा न्यूनिकरणको अभियानलार्इ चुनौती भएको उनले बताइन्। महिला विकास अधिकृत पौडेलले अब बालबिवाह न्यूनीकरणका लागि रणनीतिक योजना बनाएर अघि बढे मात्रै बालबिवाह निरुत्साहित गर्न सकिने उल्लेख गरिन ।
विभिन्न संघ संस्थाहरुले २ बर्ष अघि सार्वजनिक गरेको सुर्खेतको बालबिवाहको तथ्याङ्क हेर्दा १० देखि १४ बर्ष उमेर समुहका १३ हजार बालबालिकाले विवाह गरेको पाइएको थियो । बालविवाह गर्दा मुख्यगरी किशोरीहरुको स्वास्थ्य जोखिममा पर्ने गरेको छ । बालबिवाहलार्इ समाजले अझैपनि सजिलै स्वीकार्ने र कानुनले नमान्ने हुँदा बालबिवाह न्यूनीकरणमा चुनौती हुने गरेको बताउँछिन्‍, बाल संरक्षण अधिकृत रमा भण्डारी ।
उनले कानुनी प्रावधान सबैले थाहा पाएको भएपनि कानुनको पालना गर्न स्वय: अभिभावकहरुले नै अटेर गर्ने गरेकाले अभियानलार्इ थप समस्या हुने गरेको बताइन्। अधिकृत भण्डारीले भनिन्‍, ‘बालबिवाह कानुनले बर्जित गरेको छ भन्ने नबुझेको कोहि छ जस्तो मलार्इ लाग्दैन ।अधिकृत भण्डारीका अनुसार कम उमेरमा विवाह गरेका किशोरीहरु आमा बन्ने गरेपछि आमा तथा बच्चाको अवस्था जोखिममा हुने गर्दछ । कम उमेरमा विवाह गरेकै कारणले गर्दा यौन परिपक्वता नभएकाले आमा बन्न सक्षम नभएका ती किशोरीहरुमा रक्तस्राव, पाठेघरको क्यान्सर जस्ता विभिन्न रोगको सिकार बन्नु पर्ने तथा आमाको ज्यानै जाने सम्भावना रहने उनले बताइन्
नेपाल जनसाङ्खि्यक स्वास्थ्य सर्वेक्षण २०६८ का अनुसार ४० प्रतिशत अर्थात्१३ लाख किशोरी १९ वर्ष नपुग्दै विवाह हुने गरेको छ भने तीमध्ये करिब साढे ५ लाख किशोरीहरु १९ वर्ष अगावै आमा बन्ने गरेका छन्। त्यस्तै २०६८ सालको तथ्याङ्क अनुसार कुल विवाहित जनसंख्या १ करोड ३३ लाख ३८ हजार चारसय ९६ मध्ये ८० लाख १८ हजार ३ सय १३ अर्थात ६० दशमलव १२ प्रतिशतले बालविवाह गरेको तथ्याङ्ले देखाएको छ ।
त्यस्तै विश्व जनसंख्या कोषका अनुसार नेपाल लगाएत विश्वका विकासोन्मुख देशहरुका ५० करोड किशोरी मध्ये २० करोड किशोरी १९ वर्ष नपुग्दै विवाह गरी आफ्ना प्रगति रोक्न बाध्य भएको देखाएको छ । जसका कारण १९ वर्ष नपुग्दै गर्भवती हुँदा वा बच्चा जन्माउँदा नेपाल लगायत विकासोन्मुख देशका किशोरीहरु उच्च जोखिम तथा विरामीपना व्यहोरिरहेको अध्ययनमा देखिएको छ ।