यातायात क्षेत्रबाट पर्यटन प्रवर्द्धन गर्दै सुर्खेत काँक्रेविहार


१५ फागुन, सुर्खेत । यातायातको क्षेत्रबाट कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धन गर्नकोलागि सुर्खेत काँक्रेविहार यातायात प्रा.लि.ले कर्णाली प्रदेश सरकारसंग सहकार्य गर्ने भएको छ ।

नेपाल भ्रमण बर्ष २०२० र कर्णाली प्रदेश सरकारको यसपाली घुमौं कर्णालीलाई सार्थक बनाउनका लागि सुर्खेत काँक्रेविहार यातायात प्रालिले आफ्ना सम्पूर्ण बसहरुमा पर्यटन प्रवद्र्धन अंकित लोगोहरु अंकित टाँसेर पर्यटन प्रवर्द्धनको सुरुवात गरेको हो ।

आज (विहीवार) कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा. कृष्णप्रसाद आचार्य, प्रालिका अध्यक्ष रमेशकुमार सापकोटाले प्रालिका बसहरुमा पर्यटन प्रवर्द्धनको लोगोहरु टाँसेर सुरुवात गर्नुभएको छ ।

सचिव डा. आचार्यले संघीय तथा प्रदेश सरकारको पर्यटन प्रवर्द्धन अभियानमा निजी क्षेत्रको सहकार्य भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले कर्णालीमा पर्यटनको प्रचुर सम्भावना भएपनि पूर्वाधारको अभावले प्रवर्द्धन गर्न कठिनाइ भएको बताउनुभयो । पर्यटनको प्रवर्द्धनको लागि निजी क्षेत्रले बजारीकरण, पूर्वाधार निर्माणमा सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेशकुमार सापकोटाले यातायातका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न सकिने भएकोले प्रालिले त्यसको सुरुवात गरेको बताउनुभयो । उहाँले प्रालिमा आवद्ध करिव ३० वटा बसमा कर्णाली प्रदेशको पर्यटकीय क्षेत्रहरुको चित्र तथा लोगोहरु टाँसेर प्रचारप्रसारको सुरुवात गरेको जानकारी दिनुभयो । उहाँले पर्यटन प्रवर्द्धन गर्नु सवैको दायित्व भएको भन्दै अन्य क्षेत्रलाई पनि सरकारको अभियानमा सहयोग गर्न आव्हान गर्नुभयो ।

I

यसैवीच प्रालिले शुक्रवारदेखि काटिने प्रत्येक टिकटबाट २ रुपियाँ सामाजिक कोषका लागि छुट्याउने निर्णय गरेको छ । अध्यक्ष सापकोटाले प्रालिमा आवद्ध बसबाट यात्रा गर्ने यात्रुले काट्ने टिकटबाट २ रुपियाँ सामाजिक कोषका लागि छुट्याउने र सो रकम विशुद्ध सामाजिक काममा खर्च गरिने जानकारी दिनुभयो । यसैगरी प्रालिले यात्रुहरुको लगेजको सुरक्षाका लागि लगेजमा नम्बरसहितको स्टिक टाँस्ने भएको छ ।