सचेतनाको कमीका कारणले सवारी दुर्घटना धेरै: अध्यक्ष शाक्य


१६ फागुन, सुर्खेत । सुर्खेत महिला जेसीजले आज (शुक्रबार) कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा दुर्घटना न्यूनिकरणका लागी ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

पछिल्लो समय बढ्दो दुर्घटना र त्यसबाट उत्पन्न हुने धनजनको क्षेतिलाई न्यूनिकरण गर्न नागरिकमा सचेतना बृद्धि होस भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएको छ ।

स्थानीय पिपल चौताराबाट र्याली सहित मंगलगढि चोकमा सभामा परिणत भएको उक्त कार्यक्रममा बोल्दै सुर्खेत महिला जेसीज वर्ष २०२० का अध्यक्ष प्रमी शाक्यले सचेतनाको कमीका कारणले दुर्घटना धेरै भएको भन्दै सचेतना अभिवृद्धिको अभियान स्वरुप कार्यक्रम आयोजना गरिएको बताउनु भएको छ । उहाँले ट्राफिक प्रहरी संगको सहकार्यमा कार्यक्रम संचालन गरिएको जानकारी दिनुभयो ।

त्यस्तै कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उदय सिंह सिजापतिले दुर्घटना न्यूनिकरणकालागि  विभिन्न सामाजीक संघ संस्थाहरुसंग सचेतना बृद्धिका लागि समन्वयात्मक क्रियाकलाप भएको बताउनु भयो । उहाँले ट्राफिक जनचेतनाका लागी सबै सरोकारवाला संघ संस्थाहरु संग सहकार्यको चाहाना कार्यालयको रहेको पनि बताउनु भएको छ ।

कार्यक्रममा देउती नागरिक यातायात प्रा.ली.का अध्यक्ष कमल खड्का जुनीले सुर्खेत महिला जेसीजले दुर्घटना न्यूनिकरणका सम्बन्धमा सचेतनाका लागि महत्वपुर्ण कार्यक्रम संचालन गरेको भन्दै सुर्खेत महिला जेसीज संग अवद्ध सबै लाई यात्रामा १५ प्रतिशत छुट दिने घोषणा गर्नुभयो ।

त्यस्तै कार्यक्रममा वडा नं. ६ का वडा सदस्य उपेन्द्र खड्काले दुर्घटना न्यूनिकरणका लागी आम नागरिक समेत सचेत हुनु पर्ने बताउँदै उहांले चालकलाई मात्र दोष दिनु गलत भएको भन्दै सबै क्षेत्रका व्याक्तिहरु यस सम्बन्धमा जिम्मेवार बन्नु पर्ने औंल्याउनु भयो ।

सुर्खेत महिला जेसीजको आयोजनामा भएको उक्त कार्यक्रममा सवारी चालक तथा सहचालकहरुको निशुल्क स्वास्थ्य परिक्षण समेत गरिएको छ ।

पछिल्लो समय सवारी दुर्घटना र त्यसबाट हुने क्षेतिको रोकथामको लागी सम्बन्धीत सरोकारवाला थप जिम्मेवार बन्दै काम गर्नु पर्ने सहभागीहरुले बताएका छन ।