डिप बोरिङमा लगानी, वालुवामा पानी
सुर्खेत, २२ असार । सुर्खेत उपत्यका भित्र अनुसन्धान र परामर्श विना नै डिप बोरिङबाट पानी तान्नेहरु अव पछुताउनु पर्ने अवस्था सृजना भएको छ । सरकारी स्तरवाट २०५४ सालमा सिंचाई कार्यालयले र २०७१ मा क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालयले गरेको छुट्टाछुट्टै बोरिङ परीक्षण अनुसन्धानमा उपत्यकाको सतहभित्र पर्याप्त मात्रामा पानी नभएको निष्कर्ष निकालेको थियो ।
परीक्षणमा सुरुको १८ देखि २० मिटरसम्म माटो भएको र त्यसपछि कडा चट्टान भेटिएकोले पर्याप्त पानी नभएको क्षेत्रीय अनुगमन कार्यालयका सिनियर डिभिजनल इन्जिनियर आविद हुसेनले बताए । सिचाई कार्यालयकाले एयरपोर्ट नजिक र अनुगमन कार्यालय २ वर्ष अघि लाटिकोइलीको कुन्टीमा गरेको अध्ययनवाट प्रर्याप्त पानी नभएको पत्ता लगाएको उनले जनाए ।
कुन्टीमा ११८ मिटर तल खन्दापनि पानी नभेटिएकोले उपत्यकाको जमीनको सतहभित्र पर्याप्त मात्रामा पानी नभएको पुष्टि भएको उनले बताए । डिप बोरिङ गर्दा प्रति सेकेण्ड ७ लिटर पानी आएमा त्यो पानी निरन्तर आइरहने उनले वताए । तर त्यो भन्दा कम पानी आए २/३ बर्षभित्र पानी सुकेर लगानी खेर जाने उनले जनाए ।
अहिले उपत्यकाभित्र खनिएका सवै डिप बोरिङबाट सुरुमा पानी आएपनि अवको दुई चार बर्षपछि पाउनी आउदैन उनले भने । कार्यालयको सम्पर्कमा आएका व्यक्तिलाई लाई डिप बोरिङबाट पानी नतान्न सुझाव दिदै आएको उनले वताए ।सुर्खेत उपत्यकाभित्र बस्ती बाक्लिदैं गएको, घरहरु थपिदै गएकोले विगतको तुलनामा अहिलेको पानीको सतह घटदै गएको छ ।
बस्तीले उपत्यका भरिए कुवाहरु मात्र होइन बोरिङ समेत सुकेर जाने कार्यालयले जनाएको छ । सुख्खा समयको आवश्यकताका पुरा गर्न बोरिङ खनिन्छ, त्यो समयमै बोरिङ सुक्ने भएकोले बोरिङ गर्नुको कुनै अर्थ हुदैन सिडिई हुसेनले भने । यसपालि कार्यालयले पानी परीक्षणका लागि भन्दै दुई ठाउँमा बोरिङ टेष्ट गरिरहेको छ । क्षेत्रीय प्रहरी कार्यालयमा गरिएको टेष्टमा प्रतिसेकेण्ड एक लिटर पनि पानी आएको छ ।
इत्राम स्कुलदेखि माथिको स्थानमा भने टेष्ट गर्ने क्रम जारी रहेको छ । दुई ठाउँको बोरिङ टेष्टका लागि २२ लाख बजेट आएको छ । एउटा बोरिङ खन्दा वरिपरिका सवै कुवाहरु सुक्ने प्राविधिकहरु बताउँछन् । पछिल्लो समय सुर्खेत उपत्यकामा आफूखुशी डिपा बोरिङबाट पानी तान्ने क्रम बढदै गएको छ । उपत्यकाको भित्री तहमा पर्याप्त मात्रामा पानी नभएको सरकारी अनुसन्धानवाट थाहा भएपनि आफूखुशी डिप बोरिङबाट पानी तान्ने क्रम रोकिएको छैन । डिप बोरिङ गर्दा वरीपरीका कुवाहरु सुक्न थालेपछि स्थानीयल डिप बोरिङ गर्न रोक्नु पर्ने माग गरेका छन् ।
स्थानीय वासिन्दाको मागको आधारमा सवैपक्षिय वैठकले उपत्यकामा तत्कालको लागि डिप बोरिङवाट पानी तान्न रोक लगाएको छ । सर्वपक्षिय वैठले रोक लगाएपनि आफुखुशी डिप बोरिङवाट पानी तान्ने क्रम रोकिएको छैन । अहिलेसम्म उपत्यकाभित्र ४० वटा भन्दा बढी डिप बोरिङबाट पानी तानिएको छ । जिल्ला जलस्रोत समितिका समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले अर्को निर्णय नहुँदासम्मको लागि आफूखुशी बोरिङ खन्न रोक लगाएको बताए ।
उनले प्राविधिक दृष्टिले उपयुक्त हुने स्थानहरुको पहिचान गरेर अनुमति दिइने जानकारी दिए । समितिले छिटै बैठक बसालेर यस बारेमा दीर्घकालीन निर्णय लिइने जनाए ।
साभारः राराखबर अनलाइन



Prawash Kumar Shakya । २२ असार २०७३, बुधबार १२:५५ बजे