
३० चैत्र, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)बाट ३ जना थप नयाँ संक्रमित भएको सरकारले पुष्टी गरेको छ ।
पर्साको वीरगञ्जमा ३ जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयलेे जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।
संक्रमितहरुको वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ देखिएपछि पुनः जाँचका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको थियो ।
भारतबाट आएका २४ जनासहित ३३ जनाको नमुना संकलन गरी गत बिहीबार परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो । त्यसमध्य ३ जनाको प्रारम्भिक रिपोर्ट मिश्रित खालको आएपछि पुनः परीक्षणका लागि टेकु पठाइएको थियो । संक्रमितहरु वीरगञ्ज–२ छपकैया स्थित जामे मस्जिदमा बस्दै आएका उनीहरुलाई शुक्रबार नै नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ ।
संक्रमण पुष्टि भएकामध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएको बताइएको छ उनीहरु १३ दिनदेखि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा आएको स्थानीयले बताएका छन् । सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरु त्यही बेलादेखि भारत फर्केका छैनन् । मार्च ४ तारिकमा रिटर्न ट्रेन टिकेट भए पनि लकडाउनका कारण उनीहरु रोकिएका बताइएको छ ।
लकडाउनका कारणले घर फर्कन नपाएका संक्रमितहरुले फर्कनुअघि एकपटक स्वास्थ्य जाँच गराउनु उपयुक्त सम्झेर उनीहरु आफैं नारायणी अस्पतालमा पुगेको मस्जिदका मौलाना अलि असगरले बताउनुभयो ।
‘लकडाउनको समयमा उहाँहरु मस्जिदमा आउनुभएको हो । त्यही बेला प्रहरीसँग समन्वय गरेर हामीले बेग्लै राखेका थियौं’ मौलना असगरले भने ‘छुट्टै राखिएकोले उहाँहरुसँग धेरै कुराकानी पनि भएको छैन । घर जाने बेलामा एक पटक स्वास्थ्य जाँच गराउनु उपयुक्त हुन्छ भनेर अस्पताल जानुभएको हो ।’ त्यसपछि अस्पतालमा जाँच भएको तर रिपोर्ट आइनसकेको जानकारी आफूले पाएको उहाँले बताउनुभयो ।
यो संगै नेपालमा कोरोना भाइरस कोभिड १९ बाट संक्रमित हुनेको संख्या १२ पुगेको छ भने १ जना स्वास्थ्यलाभ गरि फर्किसक्नुभएको छ ।
Milan Shrestha । ३० चैत्र २०७६, आईतवार १०:०६ बजे