
प्रमुख जिल्ला अधिकारी
जिल्ला प्रशासन कार्यालय, सुर्खेत
मिलन श्रेष्ठ
२५ बैशाख, सुर्खेत । सुर्खेतका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बजार पूर्ण रुपमा नखुल्ने बताउनु भएको छ ।
विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)लाई मध्यनजर गर्दे बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ५ गतेसम्मका लागि लकडाउन थप्ने निर्णय गरे संगै सर्वसाधारणहरुको एउटा मात्र प्रश्न छ कि भोली २६ गतेदेखि के हुने हो?
मन्त्रिपरिषदको बैठकमा गरिएको निर्णय र शर्तसहित लगभग सबै प्रकारका उद्योग खोल्ने र विकास निर्माणका आयोजनाको काम गर्न सकिने जनाएको छ । तर, लकडाउन खुकुलो बनाउने सरकारको निर्णयले निजी क्षेत्रमा अन्योल देखिएको छ । उद्योग खुल्ने तर तीनै उद्योगले उत्पादन गरेका वस्तु बेच्ने बजार नखुल्ने भए पछि औचित्य के त?
यसै बिचमा सुर्खेतका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बजार पूर्ण रुपमा नखुल्ने कुरा जानकारी दिदै उहांले भन्नु भयो, ‘अहिले जुन सेडुलमा अत्यावश्यक पसलहरु खोल्ने गरिएको छ । भोलिदेखि पनि त्यही अवस्था रहन्छ । बजार खुल्दैन,’ उहांले भन्नु भयो । भोलिदेखि पनि यही निर्णयलाई निरन्तरता दिने उहांले बताउनु भयो । सुर्खेतमा अहिले खाद्यान्न लगायतका अत्यावश्यक पसल हप्ताको तीन दिन २ घण्टाका लागि खुलाउने गरिएको छ । दुग्घजन्य पदार्थ ग्यास र तरकारी पसलहरु भने दैनिक दुई घण्टा खुल्ने गरेका छन् । ‘विकास निर्माणका काम र उद्योगहरु शर्तसहित सञ्चालनमा आउँछन् । जेठ ५ सम्म लकडाउन जारी रहेकाले बजार पूर्ण रुपमा खुल्दैन । माथिको निर्णय अनुसार नै हामी अगाडी बढ्छौं,’ प्रजिअ न्यौपानेले भन्नु भयो ।
सरकारले लकडाउनको अवधिमा औषधि, स्वास्थ्य सामग्रीजस्ता अत्यावश्यक वस्तुको उत्पादन तथा बिक्री वितरण, खाद्य वस्तु, कृषि तथा पशुपन्क्षीजन्य उत्पादन, औद्योगिक वस्तुको उत्पादन तथा बिक्री वितरण, विकास आयोजनाहरु सञ्चालनको लागि आवश्यक पर्ने निर्माण सामग्रीको ढुवानी र न्यूनतम बैंकिङ्ग तथा बित्तीय सेवालाई शर्तसहित सुचारु गर्न सकिने जनाएको छ ।



Milan Shrestha । २५ बैशाख २०७७, बिहीबार १६:५९ बजे