
२२ भाद्र, सुर्खेत । राष्ट्रिय नीजि तथा आवासीय विद्यालय एशोसियसन (एन प्याब्सन) कर्णालीले कर्णाली प्रदेश सरकारलाई विद्यालयको तालाचाबी बुझाएको छ ।
सरकारले कोरोना भाइरस कोभिड १९ को महामारी रोक्न गरेको लकडाउनको स्वागत गर्दै संस्थागत विद्यालयहरुले विकल्प सहित विद्यालय संचालनका आधारहरु पेश गर्दा सरकारले विद्यालय संचालनमा रोक लगाउँदै संस्थागत विद्यालयको आर्थिक श्रोत अभिभावकहरु संग शुल्क उठाउन बन्दे गरेपछि संस्थागत विद्यालय संचालनमा कठिनाई भएको बताउँदै तालाचावी प्रदेश सरकारलाई बुझाएको एनप्याब्सन कर्णाली प्रदेशले जनाएको छ ।
विकल्प सहित विद्यालय सञ्चालन गर्न सकिने आधारहरु पेश गर्दा पनि सरकारले एकतर्फी रुपमा शुल्क नउठाउन निर्देशन गरेपछि शिक्षकको तलब, घरभाडा, बैङ्कको ब्याज, किस्ता र विद्युत, पानीको महशुलले भयावह स्थितिमा संस्थागत विद्यालयहरु पुगेको नेशनल प्याब्सनका कर्णाली प्रदेश अध्यक्ष कमलकुमार सिंहले बताउनुभयो ।
‘अहिले लकडाउन छैन बैंक लगायत वित्तिय संस्था, होटेल, रेष्टुरेन्ट, बजारमा सयौं मान्छेहरुको भीडभाड हुँदा कोरोना नसर्ने, तर विद्यालयले सुरक्षाका मापदण्ड अपनाई विकल्पसहित विद्यालय खोल्दा जोखिम बढ्ने ? ।’ यो संस्थागत विद्यालयहरु धरासायी बनाउने षड्यन्त्र पनि हुनसक्छ । अध्यक्ष सिंहले भन्नुभयो ।



Milan Shrestha । २२ भाद्र २०७७, सोमबार २०:१६ बजे