डा. गोविन्द केसीको प्रस्तावः मेडिकल शिक्षाबाट निजी क्षेत्रलार्इ फेज आउट गरौं


फाइल फोटो
फाइल फोटो

१९ माघ, काठमाडौं । त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीले मेडिकल शिक्षाबाट निजी क्षेत्रलार्इ फेज आउट गर्न प्रस्ताव गरेका छन् । यसको सुरूवातमा निजी मेडिकल कलेजहरुको अधिकतम सिट संख्या आउँदो वर्ष ५० मा झार्नु पर्ने उनले बताए ।

डा. केसीले बुधबार विज्ञप्ति निकालेर सम्झौता आइओएमलाई स्वायत्तता दिने लगायतका सम्झौता कार्यान्वयन नभएको तथा चोर बाटोबाट नयाँ निजी मेडिकल कलेजहरुलाई सम्बन्धन दिने प्रयास भइरहेको दाबी गरेका छन् । निजी मेडिकल कलेजहरुको ब्रम्हलुटलाई सरकारले नै प्रोत्साहन गरेको भन्दै उनले भनेका छन्, यो अवस्थामा हामीले सरकारप्रति देखाएको विश्वास र भरोसामा गम्भीर धक्का लागेको छ ।’

नेपालमा निजी क्षेत्र नसुध्रने कुरा विगत ४ वर्षमा सिद्ध भएको दाबी गरेका छन् । र, भनेका छन्, हामीसित अब मेडिकल शिक्षाबाट निजी क्षेत्रलाई फेज आउट गर्नुको विकल्प छैन ।’  सरकारी शिक्षण संस्थाहरुको क्षमता बिस्तार गर्ने र समय सीमा तोकेर निजी मेडिकल कलेजहरुलाई फेज आउट गर्नु  पर्ने उनले बतँएका छन् ।

डा. केसीले भनेका छन्, निजी मेडिकल कलेजहरुको अधिकतम सिट संख्या आउँदो वर्ष ५० मा
झार्ने र अर्को २ वा ३ वर्षमा शुन्यमा झार्ने हो भने तबसम्म देशभरका क्षेत्रीय, उपक्षेत्रीय, अञ्चल र जिल्ला अस्पतालहरुलाई संलग्न गरेर तिनमा विद्यार्थीहरुको नियमित पोस्टिङ गर्ने गरी पढाइ शुरु गर्ने हो भने
वार्षिक १००० देखि १५०० एमबीबीएस, ३०० जति बीडीएस र ५०० जति स्नातकोत्तरका चिकित्सक उत्पादन गर्न राज्यलाई कत्ति पनि अप्ठेरो हुने छैन ।’

मेडिकल शिक्षाबाट निजी क्षेत्रलार्इ फेज आउट गर्नु नै केही वर्षमा नेपालको स्वास्थ्य क्षेत्रको कायापलट गर्ने उपाय भएके डा. केसीको दाबी छ ।

साथै उनले प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम अघि बढाउन, चिकित्सा शिक्षा ऐन माथेमा प्रतिवेदनको मर्म अनुरुप हुने गरी पारित गर्न,मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयक फिर्ता लिन माग गरेका छन् ।

सहमति कार्यान्वयनका लागि दिएको अल्टिमेटम यही हप्ता सकिएको भन्दै डा. केसीले सरकारलाई थप केही समय दिने बताएका छन् । त्यसको बदला सम्झौता कार्यान्वयन नगर्ने वा उल्ट्याउने तथा चिकित्सा शिक्षा ऐन रोक्ने काम गरियो भने कुनै पनि बेला सत्याग्रह लगायतका कार्यक्रमहरुसहित सुधार अभियानको नयाँ चरण शुरु गर्न बाध्य हुने जानकारी गराउँछु, डा. केसीले भनेका छन् ।

साभारः अनलाइनखबर