दुर्घटना न्यूनिकरण गर्न छाडापशुको घाँटीमा स्टीकर लगाइयो (भिडियोसहित)


१७ श्रावण, सुर्खेत । जिल्ला ट्राफिक कार्यालय सुर्खेतले कर्णाली स्वयंसेवक दल सुर्खेतको समन्वयमा आज छाडा पशुका कारणले हुने सवारी दुर्घटना न्यूनिकरणकालागि पशुको शरिरमा टल्किने स्टीकर टाल्ने अभियान शुरु गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरिक्षक उपेन्द्र प्रसाद आचार्यले रातको समयमा छाडापशु सडकमा बसिदिने र त्यस्का कारणले हुने सवारी दुर्घटना न्यूनिकरण होस भन्ने हेतुले गाईको घाँटी र सिङ्गमा रातो र पँहेलो टल्किने (रिफ्लेटिक) स्टिकर टालिएको बताउनुभयो । उहाँले भन्नुभयो “हामीले केही हद सम्म सवारी दुर्घटना न्यूनिकरण हुन्छ भन्ने अभिप्रायले यो अभियानको शुरुवात गरेका हौं हाम्रो यो अभियानमा कर्णाली स्वयंसेवक दलले साथ दिएको छ त्यस्तै हाम्रो यो अभियान हामी चलाइरहने छौ।”

“हुनत यो दिर्घकालि तरिका होइन तर केही भएपनि छाडापशुका कारणले हुने सवारी दुर्घटना न्यूनिकरण हुन्छ भन्ने हामीलाई लागेर हामीले यो कार्यमा ट्राफिक प्रहरीलाई साथ दिएका हौं” कर्णाली स्वयंसेवक दलका उपाध्यक्ष लक्ष्मण कँडेलले बताउनुभयो ।

अभियानले आज ऐरी चोक, बसपार्क, एयरपोर्ट चोक र पिपिरा चोकमा रहेका छाडापशु (गाईगोरु) मा स्टिकर टासेको थियो ।